काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्।
सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री श्रेष्ठले नेपाललाई वर्षभर नै पर्यटक आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए। उनले वर्षभर नै नेपाल पर्यटकहरूका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए।
उनले विदेशमा रहेका हरेक नेपालीहरूले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको बताए। उनले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढिरहेको बताए।
उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए। मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरूमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए।
स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरूमा असर नपर्ने गरेर विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।