फाइल तस्बिर
भक्तपुर–४५ वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको मल्लकालीन तान्त्रिक लाय्कू भैल अर्थात् भैरव नाच यस वर्ष शनिबार रातिदेखि सुरु भएको छ।
मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा भैरव नाच प्रदर्शन गरिएको हो।
शनिबार राति नै विभिन्न टोलमा चार दिन चार रात अपराह्नदेखि रातिसम्म सञ्चालन हुने भैरव नाच सबैको सहयोग र एक महिनादेखिको अथक तयारी एवं प्रयासबाट सञ्चालन गरिएको लाय्कू भैल सञ्चालन समितिले जनाएको छ । दुई वर्ष यहाँको युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन सुरु भएको हो।
भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए।
भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण रहने लाय्कू भैल नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गरिने छ। नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँगअर्थात् कपालको बिंया, अक्षता, ताय् भएको भाडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।
नाचका क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए।
शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको श्रेष्ठको भनाइ छ । उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।