रुकुम–रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा शनिबार भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ।
सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरीका नायब उपरीक्षक (डिएसपी) रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
पहिलो चरणमा सशस्त्रका डिएसपी श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगञ्ज लगिएको थियो भने दोस्रो चरणमा नेपाल प्रहरीका डिएसपी डाँगी र प्रहरी जवान घर्तीलाई नेपालगञ्ज लगिएको हो। अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगञ्ज लगिएको छ। उनलाई त्यहाँ लग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
अहिले डिएसपी डाँगीको शिक्षण अस्पताल बाँके र डिएसपी श्रेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबस्ता बाँकेमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
शनिबार जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो। गाडी सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।