रुपन्देही–गृहमन्त्री बालकृष्ण खाणले सहमति भएका विषयलाई समेटेर नै सरकारले नागरिकता विधेयक सदनमा पेस गरेर पारित गरेको बताएका छन्। उनले वर्षौंदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको बताए।
उनले भने, ‘बाबुआमा नेपालमा रहेका तर छोराछोरी नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने सबै अधिकारबाट वञ्चित युवाहरुको भावनाअनुसार विधेयक पास गरिएको हो।'
गृहमन्त्री खाणले १० वर्ष उमेरमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता रुपन्देही जिल्ला घोषणा कार्यक्रम घोषणा गर्दै सरकारले सबै दलका नेताहरुसँग गहन छलफल गरेर यो विधेयक सदनमा अघि बढाएकोसमेत बताए।
उनले नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकहाँ स्वीकृतिका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको उल्लेख गरे। उनले नेपालका हिमाल, पहाड र तराई जुन भूभागमा बसोबास गरेको छ त्यहीकै समुदायले नै भूगोलको रक्षा गरेको चर्चा गर्दै नेपाली भाषा, संस्कृति र भूगोलको रक्षा गर्ने वास्तविक नेपाली नागरिक नै राष्ट्रियताको संरक्षक भएको बताए।
गृहमन्त्री खाणले सबैको सामूहिक प्रयासबाट नै कोभिड–१९ जस्तो महामारीलाई नियन्त्रण गर्न सकिएको भन्दै यसबाट जस्तोसुकै पनि विपद्लाई सामना गर्ने क्षमता नेपाली जनता र राज्यमा बढेको बताए।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजना गरिएको कार्यक्रममा १२ वर्ष उमेरमाथिको कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको जानकारी दिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।