काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई विपक्षी बनाइएको रिटमा उनको नियुक्ति खारेजीको माग गरिएको छ।
विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायत ५ जनाले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दिएका हुन्।
रिटमा केसीको शैक्षिक योग्यता, उमेर र व्यवहार विवादास्पद देखिएको दाबी गरिएको छ। यस्तै, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिटमा माग गरिएको छ।
रिटमाथि सुनुवाइका लागि सोमबारलाई पेसी तोकिएको छ।
साउन ९ गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। बोर्डको अध्यक्ष बनेका केसीको शैक्षिक योग्यताको सन्दर्भमा पनि प्रश्न उठाइने गरिन्छ।
कार्यस्थलमा ‘योन दुर्व्यवहार गरेको’को आरोप समेत भोगेका केसी बोर्ड अध्यक्षका लागि योग्य नभएको भन्दै विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।