काठमाडौं– बलिउड अभिनेता आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’मा शाहरुख खानले पनि काम गरेको पक्का भएको छ। ‘लालसिंह चड्डा’को प्रचारका क्रममा अभिनेता आमिरले बताएअनुसार फिल्ममा शाहरुख केमियो भूमिका छ।
‘शाहरुख मेरो निकै नजिकका साथी हुन्,’ आमिरले भने, ‘मैले फिल्मका लागि भारतमा एउटा यस्तो मान्छेको खोजी गरिरहेको थिए जो अमेरिकाका एल्विस प्रेस्ली जस्तो होस्। भारतको सबैभन्दा ठूलो स्टार होस्। त्यहि कारण म शाहरुखसम्म आइपुगे। उनले मेरो कुरा सुनेर फिल्ममा काम गर्न तुरुन्तै हुन्छ भनिदिए।’
आमिरले फिल्ममा शाहरुखको अभिनय भएको पुष्टि गरे पनि उनी कुन भूमिकामा देखिएका छन् भन्ने खुलेको छैन। तर, पर्दामा पहिलोपटक आमिर र शाहरुखले काम गरेको फिल्म ‘लालसिंह चड्डा’ नै हुने भने पक्का भएको छ।
प्रदर्शनको संघारमा रहेको ‘लालसिंह चड्डा’ हलिउडको प्रतिष्ठित फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो। फिल्म निर्माणका लागि १४ वर्ष लागेको थियो। १८० करोडको लगानीमा बनेको यो फिल्म अगस्ट ११ बाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।