दाङ– उद्योग वाणिज्य संघ दाङले कोइलावास नाका सञ्चालनका विषयमा भारतमा छलफल गरेको छ। जिल्ला उद्योग वाणिज्य संघ र भारतको तुलसीपुर व्यापार मण्डलबीचमा कोइलावास नाका सञ्चालन गर्न मंगलबार छलफल भएको हो।
संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा रहेको टोलीले भारतको तुलसीपुर व्यापार मण्डलका अध्यक्ष राम जी आर्य, उपाध्यक्ष रुपचन्द्र गुप्तालगायतको टोलीसँग छलफल गरेको थियो।
छलफलमा कोइलावास नाका भएर सामग्री भित्र्याउन व्यवसायीहरु तयार भएको र त्यसका लागि भन्सार कार्यालयको स्तरवृद्धि गर्न माग राखिएको छ।
‘दुई देशका व्यवसायीका बीचमा छलफल गर्यौं। कोइलावास नाकालाई व्यापारिक प्रयोजनका लागि सदुपयोग गर्न हामी व्यवसायी तयार छौं,’ बुढाथोकीले भने,‘भारत र नेपाल पक्षका दुवै भन्सार कार्यालयको स्तरवृद्धि गरेर अनलाइन विलिङ्गको सिस्टम लागू गर्नुपर्ने देखिएको छ। जसका लागि दुवै देशका व्यापार संगठनले सरकारसँग पहल गर्ने सहमति भएको छ।’
भारतबाट सामान आयात गर्दा र नेपालबाट भारत सामान निर्यात गर्दा भारतीय भन्सार कार्यालयले जाँच गर्ने, राजश्व संकलन गरेपछि अनुमति प्राप्त हुन्थ्यो। भन्सार कार्यालय भए पनि सञ्चालनका लागि कर्मचारी थिएनन्। केही हप्तादेखि भारत सरकारले कोइलावासदेखि ८ किलोमिटर पर भन्सार कार्यालय(कस्टम) सुचारु गरेको छ।
जहाँ कर्मचारीले दैनिक कामकाज गर्दै आएका छन्। ‘पहिला काम थिएन। कर्मचारी बस्ने कुरा भएन। अब काम सुरु हुने आशामा हामी बसेका छौं,’ भारतीय कस्टम कार्यालयका इन्सपेक्टर आरके यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।