दाङ– लमही अस्पतालबाट जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिए।
`एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। ढाडमा सुई लगाएर गर्न मिल्ने शल्यक्रिया गर्न सक्छौं,´ उनले भने, ‘एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया गर्न सकिन्छ।´
एमडिजिपी डाक्टर महेश सिलवाल, एनेस्थेसिया सञ्जय शर्मा, सजिना श्रेष्ठ लगायतको टिमले पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हो। यसअघि घोराही, बुटवल, नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता थियो।
लमही नगरपालिका वडा नम्बर ६ की पिमा सुनारको पेट दुख्ने समस्या देखिएपछि लमही अस्पताल ल्याइएको थियो। नजिकै सेवा पाएपछि टाढा जानुपर्ने बाध्यता टरेको पिमाकी छोरी रिनाले बताइन्। लमही अस्पतालमा ७ हजार रुपैयाँमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।
यही सेवाका लागि निजी अस्पतालले ४० हजार रुपैयाँसम्म लिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।