काठमाडौं– डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनीहरुमाथि छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ अन्तर्गत चंखेली हिमालदेखि दंधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माणका लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय मुगुका निकासा भएको रकम मिलेमतोमा हिनामिना गरेको आरोप छ।
उक्त सडक वन अधिकृत बुढथापा, सव इन्जिनियर हिमाल कुमार मल्ल, गोरसिंह बढुवालसमेतको मिलेमतोमा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गराइ, झुट्टा नापी किताब, मूल्यांकन बिल, उपभोक्ता समितिको बिल र कार्यसम्पन्न प्रतिवेदन तयार पारी सोही कागजातको आधारमा वास्तविक भन्दा २० लाख ४८ हजार ४०३ रुपैयाँ बढी लिएको पाइएको छ।
उनीहरुविरुद्ध सोही रकम बराबरको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
साथै सडक निर्माण उपभोक्ता समितका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गगनलाल बढुवाल, कोषाध्यक्ष चौरशिला बुढा र सचिव लक्ष्मण बुढालेसमेत वन कार्यालयसँगको मिलेमतोमा बढी रकम भुक्तानी लिएको पाइएको छ। अख्तियारले उनीहरुविरुद्ध पनि २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।