काठमाडौं–सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शाहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश दिएको हो।
‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि मिति २०७५ चैत १९ मा भएको निर्णयको सक्कल इजलासमा पेश गर्नू’ आदेशमा भनिएको छ, ‘निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९ असार २४ मा न्याय परिषद्बाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद सचिवालयबाट पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनू।’

अधिवक्ता सल्लु तिवारीविरुद्ध न्याय परिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउन पनि आदेश गरेको छ।
न्यायाधीश साहलाई परिषदले योग्यता नपुगेको भन्दै बर्खास्त गरेको थियो। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत शाहलाई न्यायपरिषद्ले स्पष्टीकरण सोध्दै हटाएको थियो।
योग्यता नै नपुगेकी उनी शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएकी थिइन्। उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन्। लामो समय सीटीइभीटीमा कार्यरत उनी पहुँचकै आधारमा न्यायाधीश भएकी थिइन्।
परिषदले उनको योग्यता अध्ययन गर्दै न्यायाधीश भएको पाँच वर्षपछि पदबाट बर्खास्त गरेपछि उनी सर्वोच्च पुगेकी थिइन्। आफूले न्यायाधीश बन्ने समयमा सबै योग्यता पु¥याएको तर पाँच वर्ष काम गरेपछि नियत राखेर हटाइएको जिकीर गरेकी थिइन्। उनले रिटमा अन्तरिम आदेश माग गरेकी थिइन्। तर सर्वोच्चले कारण देखाउ आदेशमात्र जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।