काठमाडौं– आज आइतबार पनि देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार र सोमबार सप्तकोसी र यसका सहायक नदीहरूको जलसतह सामान्य घटबढ हुनेछ।
तर, बहाव सतर्कता तह आसपास नै हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
'आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुको जलसतह सामान्य घटबढ हुने तर सतर्कता तह आसपास नै हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाऔं', महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।
आइतबार रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसी, देवघाटस्थित नारायणी, कुमालगाउँस्थित कालीगण्डकी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ।
दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्ने महाशाखाको भनाइ छ। केही नदीमा आकस्मिक बहाव समेत हुन सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।