नयाँदिल्ली-भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको छ।
मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोगलगायतका विषयमा कुराकानी भएको थियो।
१६ वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताएका छन्।
यसैबीच, नेता निधि र राष्टिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री (शर कार्यबाह) दत्तात्रेय होसबोलेबीच भेटघाट भएको छ।
भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो। यसैगरी, दुई देशको धर्म, संस्कृति, राजनीति, आर्थिक विकास तथा आपसी सम्बन्धबारे छलफल भएको थियो।
महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भातृसंगठन अखिल भारतीय विद्यार्थी परिषद्का महामन्त्री भएर काम गरिसकेका छन्। इन्दिरा गान्धीको शासनकालमा भारतमा संकटकाल जारी हुँदा उनी १६ महिना जेल परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।