काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको शय्या संख्या अनुसार बढाउन माग गरेका छन्।
डा केसीले शनिबार धरानबाट एक प्रेस विज्ञप्ति जारी गरी तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी शय्यामा चलिरहेका सरकारी अस्पतालहरुको दरबन्दी बढाउन माग गरेका हुन्। योसहित डा केसीले ६ बुँदे माग अघि सारेका छन्। आफूले उठाएको माग पूरा नभए भदौ १२ गतेबाट अनसन बस्ने डा केसीको चेतावनी छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुकाे स्वार्थको द्वन्द्व रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्ड सहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ।
चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न र विद्युतबाट सञ्चालन हुने गाडीहरुको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकताका साथ कानूनी व्यवस्था गर्न पनि डा केसीले माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाई नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौ। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पुरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौ।’
यसअघि विगतमा भएका सम्झौताहरु कार्यान्वयन गराउन पनि डा केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।