काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जिर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नति गरिएको छ।
वडा नम्बर २० र एरोसान सस्टेनेवल स्यानिटेशनको हातेमालोमा अपाङ्गमैत्री, वातावरण मैत्री, महिला मैत्रीको रुपमा पुनः निर्माण गरी प्रयोगकर्ताहरुलाई पर्याप्त सेवा सुविधासहितको शौचालय शनिबार वडाध्यक्ष राजेन्द्र मानन्धरले उद्घाटन गरेका छन्।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकन गरी शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो देखाउँदै शौचालय व्यवस्थित भएको र काठमाडौं महानगरपालिकाभित्र थप यस्ता शौचालयहरु निर्माण गर्नुपर्ने बताए।
उनले शौचालयमा प्रयोग भएको आकासे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै शौचालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्न सकिने सुझाव दिए।
सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिलामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालयको सुविधा दिदै आएको एरोसानद्वारा निर्मित तथा संचालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रवर्द्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो।
कार्यक्रममा वडा नम्बर २० का वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्यहरु वडाले गर्दै आएको र यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।