काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज शनिबार दिउँसो देशभर नै आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।