काठमाडौं - नेपालमा मंकिपक्सको जोखिम न्यूनीकरणका लागि तयारी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नेपालमा हालसम्म मंकिपक्स पुष्टि नभए पनि जोखिम न्यूनीकरणका लागि काम भइरहेको संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड १९ महामारी तथा मंकिपक्सको वर्तमान अवस्था र तयारी सम्बन्धमा गरिएको अन्तरक्रियामा बोल्दै डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले मंकिपक्सलाई नजिकबाट नियालिरहेको बताए।
उनले भने, ‘नेपालमा हालसम्म मंकिपक्सको केस भेटिएको छैन। तर पनि यसको जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौँ। अहिले नेपालमै मंकिपक्सको परीक्षण हुने हुन्छ। त्यसैले केस भेटिए पनि परीक्षणमा समस्या छैन।’
नेपालमा हाल कोभिड १९ बिरामीहरु पनि बढ्दै गइरहेको उनले बताए। कोभिड संक्रमण बढ्दै गएकाले खोप अभियानमा सबैलाई समावेश गराउन उनको आग्रह छ।
डब्लुएचओ नेपालका मेडिकल अफिसर डा विनोद बुराले खोपको उपलब्धताका आधारमा सबैलाई बुस्टर दिन दिनुपर्ने बताए। खोप नलगाएका व्यक्ति कोरोना संक्रमण र मृत्युको जोखिममा हुने भएकाले खोपको पहुँच बढाउनुपर्ने उनको जोड थियो। नेपालमा हाल प्रयोग भइरहेको ११ वटा कोभिड १९ विरुद्धको खोप डब्लुएचओले स्वीकृती दिएको खोप भएकाले ढुक्क भएर लगाउन डा बुराको आग्रह छ। दीर्घ रोगी, गर्भवती महिलाहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा खगेश्वर गेलालले हालसम्म शंकास्पद चार जनाको परीक्षण गरिएपनि मंकिपक्स पुष्टि नभएको बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकिपक्सको परीक्षण गर्ने किट उपलब्ध भएकाले परीक्षणमा समस्या नभएको उनले बताए।
भारतमा मंकिपक्स पुष्टि भएपछि त्रिभुवन विमानस्थलमा निगरानी बढाएको, कान्ति बाल अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।