काठमाडौं– दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले कविता प्रतियोगिताको आयोजना गरेको छ। सरकारी शिक्षक हुने एक पात्रले गरेको संघर्षमा आधारित फिल्मले शिक्षकको महत्वका बारेमा कविता प्रतियोगिता गरेको हो। फिल्मको निर्माण पक्षले शिक्षकको महत्वका बारेमा कविता लेखेर पठाई उक्त प्रतियोगितामा भाग लिन पाउने बताएको छ।
फिल्मको निर्माण पक्षकाअनुसार उक्त प्रतियोगिता स्कूल तथा कलेजमा अध्ययन गरिरहेका विद्यार्थी केन्द्रत रहेको छ। श्रावण २० गतेबाट भदौ २० गतेसम्म कविता पठाउन सकिने छ । प्रतियोगितामा १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुले भाग लिन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ पुरस्कार तथा दोस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। पुरस्कार राशी विजेताले प्रभु बैंकको फिक्स्ड डिपोजिटका रुपमा पाउनेछन्।
प्रतियोगिताको मापदण्डका रुपमा १ मिनेटदेखि १ मिनेट ३० सेकेन्डसम्मको भिडियोमा कविता वाचन गरेर पठाउनुपर्ने व्यवस्था गरिएको छ। भाग लिन चाहने प्रतियोगीले आफूले कविता वाचन गरेको भिडियो पठाएर भाग लिन पाउनेछन्।
राउत निर्देशित यो फिल्म भदौ १० गतेबाट प्रदर्शनमा आउँदै छ। हाल प्रचार भइरहेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगीलगायतका कलाकारको अभिनय छ। फिल्मलाई विकास सुवेदीले लेखेका हुन् भने महेन्द्र अधिकारीले यसलाई निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।