काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
उनले लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले तरुण दललाई नेपाली काँग्रेसको मेरुदण्डको संज्ञा दिए ।
लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राखेका छन्।
नेपाली काँग्रेसले तरुण तथा युवालाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताए । उनले काँग्रेसको रूपान्तरणका लागि तरुणहरूले केवल संगठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए ।
पार्टीमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले पार्टीभित्र भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सके काँग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।