काठमाडौं- भनिन्छ– फुटबलमा नतिजा मात्रै भएर पुग्दैन, भाग्यले पनि बलियो साथ दिनुपर्छ। मंगलबार साँझ यस्तै बलियो भाग्यको खोजीमा थिए दुई टोली, नेपाल र भारत। साफ यू–२० च्याम्पियनअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली टोलीको फराकिलो जित र आयोजक भारतको झिनो हारले फाइनलको समीकरण बद्लिन सक्थ्यो। त्यसैले यी दुई टोलीको भिन्न भिन्नमा खेलमा नतिजा के आउने हो धेरैको चासोको विषय बनेको थियो।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा दिनको पहिलो खेलमा बंगलादेश नेपाल र भिडिरहँदा नेपाली समर्थक चमत्कारी नतिजाको पर्खाइमा थिए। खेल हुनुभन्दा अगाडि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले पनि नेपाली समर्थकले चाहेको जस्तै नतिजा दिने प्रतिज्ञा गरेका थिए। यदि त्यस्तो नतिजा नआएको खण्डमा राजीनामा।
उनले भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका थिए,‘मेरो फाइदाका लागि म फुटबल डुबाउन सक्दिनँ। अब रिकभरिका लागि दुई दिनको समय छ। यदि भएन भने म छाड्ने छु। फुटबलबाट अलग हुनेछु।’ फुटबल न त हो घुर्कीले जितिदैन, रणनीति र माथि भने झै बलियो भाग्य हुनुपर्छ। तर, भारतसँगको खेलमा भने मुख्य प्रशिक्षक केसीलाई यी तीनै कुराले साथ दिएन।
निश्चय नै स्पष्ट जित निकाल्ने लक्ष्यसाथ उनले मैदान उतारेको टोलीले खेलमा बंगलादेशलाई सुरुआती समयदेखि नै दबाब नराखेको होइन। तर, हरेक पटक बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ गर्दै नेपाललाई अघि बढ्न दिएनन्।
उनले आयुष घलानको प्रहारलाई सुरुआती समयमा नै विफल पार्दै खेल पहिलो हाफ गोलरहित बनाए। खेलको ६३औं मिनेटमा मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अघि बढाए। त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो।
वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट टप कर्नरमा गरेको शक्तिशाली प्रहार गोलरक्षक मोहमद आसिफले बचाउने कुनै अवसर पाएनन्। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् र खेल १–१ को बराबरीमा सकियो।
यो नतिजासँगै १० अंक जोडेको बंगलादेशका लागि फाइनल पुग्न पर्याप्त थियो। तर, नेपालको यात्रा भने लगभग समाप्त भइसकेको थियो। त्यसैले होला रेफ्रीले खेल सकेको संकेत गर्दै सिट्ठी फुकेसँगै नेपाली युवा खेलाडीको अनुहार मलिन मात्रै थिएन, ‘टचलाइन’मा उभिएका सहायक प्रशिक्षक बालगोपाल साहुखलाले त हार नै मनिसकेका थिए।
उनी भन्दै थिए,‘खेलाडीले आफ्नो सबथोक दिएर खेले। हामीलाई आज फराकिलो जित आवश्यक थियो। हामीले अलि बढी आत्मविश्वास र आक्रामक भएर खेलेको भए राम्रो नतिजा आउँथ्यो होला। टोली पछिल्लो खेलको नतिजाका कारण निकै दबाबमा पनि थियो। हामीले त्यसमा सुधार गरेर खेल्ने प्रयास गर्यौं। तर भारतसँग हारको ह्यांगओभरले खुलेर खेल्न केही कठिन भयो।’
हो, बंगलादेशसँग अन्तिम खेलमा भिड्न दुई दिन बाँकी रहँदा नेपाली टोलीले भारतसँग ८–० को फराकिलो हार व्यहोरेको थियो। यो उमेर समूहको फुटबलमा नेपालको अहिलेसम्मकै सर्वाधिक खराब प्रदर्शनमध्ये एक थियो। दक्षिण एसियाली फुटबलको उमेर समूहको खेलमा नेपालले यस अगाडि यति धेरै अन्तरको हार व्यहोरेकै थिएन।
सम्भवतः नेपालसँग खेल्नुअघि बंगलादेशसँग २–१ को हार व्यहोरेर निराश भएको भारतले ८–० को जित मिल्नेछ भनेर पनि सोचेको पनि थिएन। तर, भारले अप्रत्यासित जित निकाल्यो र फाइनल पुग्ने सम्भावनालाई बलियो बनायो।
खेलकुदमा अप्रत्यासित नतिजा आउनु अस्वभाविक कुरा होइन्। सन् २०१९–२० को च्याम्पियन लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ८–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। त्यसैले नेपाल र भारतबीचको खेलमा मात्रै होइन, विश्व फुटबलमा यस्ता नतिजाहरु आइरहन्छन् भनेर चित्त बुझाउनुबाहेक नेपाली समर्थकमा अन्य केही विकल्प रहेन।
तर, यो हारले भने साहुखलाले भनेजस्तै खेलाडीको आत्मविश्वासमा ठूलो धक्का पुगेको थियो। त्यसमाथि केसीको अनावश्यक घुर्कीले खेलाडीमा झनै दबाब पैदा गरिदियो। उनको जस्तै घुर्कीले खेल जित्ने भएको भए नेपाली सिनियर टोलीले पनि गत वर्ष असोजमै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २८ वर्षपछि साफको ऐतिहासिक उपाधि दिलाइसक्थे।
त्यतिखेर उनले पनि केसीले जस्तै बंगलादेशविरुद्धको खेललगत्तै राजनीनामा दिएको घोषणा गरिसकेका थिए। त्यतिबेला अल्मुताइरीले राजीनामा दिएको घोषणा गर्दै गर्दा केसीजस्ता प्रशिक्षकले भनेका थिए– फाइनल अगाडि खेलाडीलाई अनावश्य मानसिक दबाब दिने काम भयो। तर, करिब १ वर्ष नपुग्दै केसीले त्यही गल्ती दोहोर्याए, जुन अल्मुताइरीलाई दोष दिइएको थियो।
उनीहरुले भनेजस्तै मंगलबार युवा टोलीका खेलाडी पनि मानिसिक दबाबमा देखिए। कहिले खेलाडीलाई लडाउन व्यस्त थिए, त कहिले मुक्कामुक्की गर्न नै। जे होस् भारतसँगको हारको पीडाले होला खेलमा देखाउनुपर्ने जोश नेपाली खेलाडीले विपक्षीका टोलीमाथि देखाइरहे, जुन आवश्यक थिएन। यता, नतिजा पनि सोचेअनुरुप आउन सकेन। खेल १–१ को बराबरीमा सकियो।
नेपालसँग खेल्नुअघि बंगलादेश ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा थियो। तर, उसलाई ढुक्क भइहाल्ने अवस्था भने थिएन। उसलाई जारी प्रतियोगितामा एक/एक खेलमा हार व्यहोरेको नेपाल र आयोजक भारतले समान ६ अंकका साथ पछ्याइरहेको थियो।
समूह चरणका शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधानअनुसार नेपाल र भारत पनि उपाधि होड मै थिए। नेपाललाई फाइनल पुग्न बंगलादेशविरुद्धको खेलमा जित मात्रै आवश्यक थिएन, त्यसका लागि भारतको नतिजामा पनि भर पर्नुपर्ने अवस्था थियो।
प्रतियोगितामा टोलीको प्राप्त अंकपछि ‘हेड टु हेड’लाई मान्यता दिने नियमअनुसार नेपाल भारतसँग पछि थियो। दिनको पहिलो खेलमा भारतलाई पछि पार्न भए पनि नेपालले कम्तिमा बंगलादेशसँग ७–० को फराकिलो जित निकाल्नुपर्थ्यो। तर, ‘डू अर डाइ’को स्थितिमा मैदान उत्रिएको नेपालले फराकिलो जित निकाल्नु त परै जावस्, खेलमा फर्किन पनि निक्कै संघर्ष गर्नुपर्यो।
त्यसपछि पनि नेपालको झिनो आशा बाँकी थियो। यदि समूह चरणबाटै बाहिरिसकेको माल्दिभ्सले भारतलाई पराजित गरेको खण्डमा भने नेपालले बंगलादेशसँगै फाइनल खेल्ने समीकरण बन्थ्यो। तर, नेपालले नै ४–० ले पराजित गरेको माल्दिभ्सले भने आइतबार अप्रत्यासित फराकिलो जित निकाल्ने भारतलाई अन्तिम समयसम्म रोक्दै १–० मै सीमित गरायो। जुन नेपाली टोली र समर्थकलाई ‘स्प्राइज’ भन्दा कम थिएन।
भारतको ‘हाउगुजी’
सुरुआती दुई खेल हेर्ने हो भने नेपालले अन्य टोलीको तुलनामा उत्कृष्ट खेल पस्किएको थियो। नहतारिकन धैर्यतासाथ मैदानमा कलाकौशल देखाइरहेका नेपाली युवा टोलीको खेलले २०१२ अघिको स्पेनिस फुटबल शैलीको झल्को दिलाउथ्यो।
२०१० को अघिपछिका केही वर्ष फुटबलमा एउटा शैलीले प्रभाव जमाएको थियो। कतिसम्म भने त्यही शैलीले गर्दा स्पेनको राष्ट्रिय टोली र क्लब बार्सिलोनाले पनि त्यो समय धेरै उपाधि जित्यो। त्यो थियो ‘टिकी टाका’। अर्थात् छोटो छोटो पास खेल्ने।
स्पेनले यसै शैलीमा २००८ तथा १२ को युरोकप र १० को विश्वकप जित्यो। यता, बार्सिलोनाले ०९–१० मा धेरै उपाधि जितेर विश्व फुटबलमै सनसनी मच्चायो। दुवै किन सफल भए भने स्पेन र बार्सिलोना खेल्ने खेलाडी अधिकांश उही थिए।
१० को दशकको सुरुआतमै स्पेन र बार्सिलोनामा सफल भएको यो शैलीको फुटबल अब नरहेको स्पेनी सञ्चार माध्यमहरुले चर्चा गर्न थालेका छन्। जुन खेलाडीले यो शैलीलाई ‘प्राक्टिस’ गरे ती खेलाडीहरु अब फुटबलबाट 'बाई' भन्ने बेलामा छन् भने खेल र ट्रफी जित्ने नयाँ ‘स्टाइल’ सुरु भइसकेको छ।
टिकी टाकाको शैलीलाई सही रुपमा लागु गर्ने प्रशिक्षक पेप ग्वार्डिओलाले समेत आफ्नो ‘लेगेसी’ सकिन लागेको देखिसकेका छन्। तर, मुख्य प्रशिक्षक केसीले भने सुरुका दुई खेलमा यसलाई पुन: जाग्रित गर्न खोजेको संकेत गराएका थिए।
उनको छोटो पास खेलाउने शैली र बेलाबेलमा फेरबदल हुने रणनीतिले नेपाललाई सुरुका दुई खेलमा फराकिलो जित दिलायो। नेपाले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० ले हरायो। तर, नेपालको अस्वभाविक शैलीलाई पढ्न भने भारतका मुख्य प्रशिक्षक वैंकटेश शनमुगमलाई कति पनि समय लागेन। उनले यसलाई तोड्न सुरुआतदेखि नै नेपाली पोस्टमा आक्रमण बुनेर निरन्तर दबाब दिन निर्देशन दिरहेका थिए।
यसका साथै टोलीमा छोटो छोटो फेरबदल र प्रदर्शनमा एकरुपता राख्ने प्रयास गरे। उनको योजना सफल पनि भयो। नेपालविरुद्ध उनले भारतलाई ८–० को फराकिलो जित दिलाए।
यता, नेपालका मुख्य प्रशिक्षक केसीले भने भारतको रणनीति बुझ्नै सकेनन्। एक गोलले पछाडि रहेको अवस्थामा उनले खेलाडीलाई दोस्रो हाफमा आक्रमक खेल खेल्न निर्देशन दिए। तर, नेपालले खेलभर कुनै पनि डरलाग्दा अवसर सिर्जना गर्न सकेन। उनीहरुको संघर्ष हेर्दा अगाडिका दुई प्रभावशाली जित निकाल्ने टोली जस्तो रतिभर थिएन। नेपालले तीन/चारवटा अवसर पाए पनि फरवार्ड लाइनमा तालमेल हुन सकेन र ८–० को फराकिलो हार व्यहोर्न बाध्य भयो।
अहिले यो लाजमर्दो हारलाई विभिन्न कोणबाट हेर्ने ठाउँ छ। तर, भारतसँगको खेल र बंगलादेशको खेल हेर्ने हो भने नेपाल टोलीको प्रदर्शनमा आकाश पातल फरक देखिन्थ्यो। त्यसैले पनि होला भारतलाई नै २–१ ले हराउने बंगलादेशलाई नेपालले खेलमा पुनरागमन गर्दै १–१ मा रोक्न सफल भयो।
भारतसँगको खेलमा नेपाली टोली ‘डिफेन्सिभ मिड’ र ‘डिफेन्स लाइन’मा सम्हालिने मौका नै पाएन। न त तालमेल नै मिलाउन सक्यो। ‘म्यान टू म्यान मार्किङ’ र फिनिशिङमा पनि नेपाल निरन्तर चुकिरह्यो। भारतले यही कमजोरी बुझेर ‘वाइड’बाट एकपछि अर्को दबाब बनायो। तर, बंगलादेशको खेलमा भने नेपालले अघिल्लो खेलमा देखिएको कमिकमजोरीलाई उलेख्य सुधार गर्दै खेलमा सम्हालिने प्रयास गर्यो।
१९९९ मा भारतमै आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालका लागि पहिलो र एकमात्र ह्याट्रिक स्कोररको रूपमा कीर्तिमान बनाएका पूर्वफुटबलर नरेश जोशी मानसिक रुपमै नेपाली टोली बलियो नभएको कारण भारतसँग हार व्यहोरेको बताउँछन्।
‘देशको लागि खेल्ने खेलाडीको मेन्टल स्ट्रोङ बनाउनु जरूरी छ। कसैको छोरालाई सीईओ बनाउनु भन्दा,’ उनी भन्छन्। हो नेपालले यसअघि भारविरुद्ध जित ननिकालेको होइन। २०१५ मा आयोजना भएको पहिलो साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई हराएर २२ वर्षपछि कुनै पनि स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको थियो।
त्यसको दुई वर्षपछि आयोजना भएको दोस्रो संस्करण पनि नेपालले जित्दा लिग चरणमा भारतलाई नै २–० गोलले हराएको थियो। त्यसयता भने यो उमेरस्तरको प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक छैन।
२०१९ मा आयोजना भएको तेस्रो संस्करणमा फाइनल पुग्न नसकेको नेपाली टोलीले यस पटक माल्दिभ्स र श्रीलंकामाथि सानदार प्रदर्शन गर्दै माथिल्लो स्तरमा देखिएको थियो। त्यसैले पनि भारतसँग अनुकूल नतिजा निकाल्नेमा विश्वस्त थिए मुख्य प्रशिक्षक केसी। तर, नेपाली टोलीले मैदानमा त्यो आत्मविश्वस देखाउन सकेनन्। एक गोलले पछि परेको अवस्थामा भारतीय टोली निक्कै बलियो रहेको ठान्यो र धोका खाँदै प्रतियोगिताबाट बहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।