काठमाडौं- बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा अवस्थित बडिमालिकाको धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बुझाउन स्थानीय जनप्रतिनिधि काठमाडौं आइपुगेका छन्।
बडिमालिकाका मेयर अमर खड्का, वडा नं ७ र ५ का अध्यक्षद्वय धर्मराज पाध्याय र कृष्ण खड्का काठमाडौं आइपुगेका हुन्।
उनीहरुले सरोकारवालासहित काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्नुका साथै राष्ट्रपति विद्यादेवि भण्डारी, पर्यटन तथा संस्कृति मन्त्रालयका अधिकारी, पर्यटन बोर्ड, पर्यटन विभाग उच्च पदस्थ अधिकारीहरुको ध्यानाकर्षण गराएका छन्।
नगरप्रमुख खड्काका अनुसार छलफलका क्रममा बडिमालिकालाई धार्मिक तथा प्राकृतिक रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा सरोकारवालाहरुसँग छलफल गरिएको हो।
राष्ट्रपति भण्डारी गत जेठ १८ गते हेलिकोप्टरबाट बडिमालिका मन्दिर पुगेकी थिइन्। बडिमालिकाको प्रवर्द्धनका लागि पहल गरिदिन अनुरोध गरिएको खड्काले बताए।
'नगरपालिकाले २०७९ लाई बडिमालिका यात्रा वर्षका रुपमा मनाउने निर्णय गरेको छ। त्यसका लागि पदमार्ग व्यवस्थित बनाउनुका साथै अन्य प्रबन्धहरुसमेत गर्ने तयारी गरेको छ,' खड्काले भने, 'नगरपालिकाको प्रयास आफ्नो ठाउँमा छ। संघीय र प्रदेश सरकारलेसमेत यसलाई महत्व दिनुपर्छ।'
यसैगरी पर्यटन विभाग र बोर्डमा प्रवर्द्धन कार्यका साथै पदमार्ग र मन्दिर पुन:निर्माणका लागि ध्यानाकर्षण गराइएको छ।
सरोकारवालाको ध्यानाकर्षण गराउन उनीहरुले बडिमालिकाको धार्मिक प्राकृतिक र सांस्कृतिक महत्वबारे संक्षिप्त जानकारीसमेत लिखित रुपमा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।