काठमाडौं– अर्थमन्त्रीको रुपमा पुन: माओवादी केन्द्रका सांसद जनार्दन शर्मा नियुक्त भएका छन्। शर्माको मन्त्रालयमा २५ दिनपछि पुनरागमन भएसँगै अर्थसचिव मधु मरासिनी भने पोखरा हिँडेका छन्।
शर्माले राजीनामा दिने दिन असार २२ गते मरासिनी बिदामा बसेका थिए। उनी अर्थमन्त्रीका कारण आफूसमेत विवादमा परेको भन्दै नर्फकने मुडसहित बिदामा बसेका थिए।
उनले उक्त कुराको जानकारी मुख्यसचिव शंकरदास वैरागीलाई पनि गराएका थिए। तर, सोही दिन शर्माले प्रतिनिधि सभामा राजीनामा दिएपछि असार २३ गते पुन: मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका थिए।
अर्थ मन्त्रालयका एक अधिकृतले मरासिनी बिदा लिएर हिँडेको जानकारी दिए। उनले बिहानै शर्माको शपथ हुने कुरा जानकारी पाएलगत्तै बिदा लिएर हिँडेका थिए। उनले बोकेको फोनसमेत 'अफ' गरेका छन्।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै असार २२ गते राजीनामा दिएका थिए। जेठ १४ गते बजेटको अन्तिम तयारी चलिरहँदा अर्थ मन्त्रालयमा शर्माले सोही मन्त्रालयका पूर्व नासुलाई विज्ञको रुपमा प्रवेश गराउँदै करको दर हेरफेर गरेको आरोप लागेको थियो।
उक्त आरोप चलिरहँदा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब भएको सार्वजनिक भएपछि शर्मामाथि झन् आरोप थपियो। आफूले गरेको गलत कार्यको बचाउ गर्न मन्त्रालयको सीसीटीभी फुटेज डिलिट गराएको आरोप पनि लागेपछि सार्वजनिक रुपमा उनको राजीनामा माग भयो।
नागरिक समाज, पूर्व प्रधान्यायाधीश, योजना आयोगका उपाध्यक्षहरु र अन्यले राजीनामा दिन सार्वजनिक रुपमा आह्वान गरेपछि सरकार र उनको पार्टीभित्र दबाब बढ्यो। असार ८ गते सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेपछि शर्मामाथि छानबिन गर्ने र उक्त अवधिका लागि राजीनामा दिने कुरा भयो।
असार २१ गते बसेको प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने प्रमुख प्रतिपक्ष नेकपा एमालेको तयारी थियो। सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमै अर्थमन्त्रीमाथि छानबिन समिति गठन हुने जानकारी गराए। उक्त कुरामा एमाले सहमत भयो।
सँगै शर्माले प्रतिनिधि सभामा सम्बोधन गर्ने कुरा राखियो। एमालेले आफू सहभागी नहुने जानकारी गरायो। लगत्तै सोही दिन ११ सदस्यीय संसदीय विशेष समिति गठन भयो।
उक्त समितिले १७ दिनसम्म छानबिन गरेको थियो। अन्तिममा प्रतिवेदन बुझाउँदा एमालेले फरक मत राखेको थियो भने बहुमतले शर्मालाई सफाई दिएको थियो। योसँगै शर्मा पुन: अर्थको जिम्मेवारीमा आएका छन्।
शर्माको नियुक्तिको भने सार्वजनिक आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा शर्माको नैतिकतादेखि माओवादी केन्द्र र नेपाली कांग्रेससमेतलाई प्रश्न उठाएर आलोचना सुरु भएको छ।
के छ मरासिनीको विकल्प?
अर्थसचिव मरासिनीसँग अब दुईवटा विकल्प देखिन्छ। पहिलो विकल्प भनेको राजीनामा दिएर अर्थ मन्त्रालयबाट अलग हुने हो।
यसअघि अर्थसचिव रहेका रामेश्वर खनालले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद भएपछि बीचमै राजीनामा दिएर हिँडेका थिए।
यसपटक पनि मरासिनीसँग यही विकल्प देखिन्छ। त्यस्तै दोस्रो विकल्प भनेको शर्मा रहेसम्म बिदामा बस्ने हो। उनले आफ्नो सञ्चिति बिदा वा अन्य बिदा जोडेर लामो समय बाहिर बस्नसक्ने देखिन्छ।
यो पनि सम्भव नभएमा उनी अन्य मन्त्रालयमा सरुवा भएर जाने विकल्प खुला नै रहेको छ। प्रधानमन्त्री वा मुख्यसचिवसँग परामर्श गरेर उनले उक्त विकल्प प्रयोग गर्न सक्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।