नेपालगन्ज–जाजरकोटका शेरबहादुर शाही वर्षमा दुई पटक मात्रै घर आउँछन्। हरेक वर्ष असारे मैजारो सकिनेबित्तिकै उनी झोला बोकेर कालापहाड लाग्छन्। बर्खेबाली धान, मकै, काेदो लगायतका बाली लगाइसकेपछि उनी असार अन्तिम अथवा साउनको पहिलो साता कमाउन भारत हिँड्छन्।
यतिबेला गएका उनी दसैंताका घर फर्किन्छन्। दसैंमा आएका उनी हिउँदे बाली लगाउनेबित्तिकै फेरि कालापहाडतिरै लाग्छन्। उनको यो क्रम दशकौंदेखि चलिरहेको छ। जुंगाको रेखी बस्नेबेलादेखि नै रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा धाउन थालेका शेरबहादुरको रोजीरोटीको दौडाइ अहिलेसम्म रोकिएको छैन।
‘उतिबेला पढ्न पाइएन। कमाइका लागि गाउँका सबै जाने भारत नै हो। म पनि उनीहरुसँगै लागेर जान थालेँ। कतिपटक गएँ याद छैन’, उनी भन्छन्। काम पाए त गाउँमै बस्ने मन उनलाई पनि छ। तर, गाउँमा आउने केही सीमित योजना पनि अहिले मेसिनमार्फत् काम गराउँछन्। जसका कारण शेरबहादुरजस्ता कैयौं आफ्नो रोजीरोटीका लागि भारतमै धाउन बाध्य छन्।
शेरबहादुर त एक प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्ता कर्णालीका हजारौं पुरुषहरुको मुख्य रोजगारीका गन्तव्यस्थल भारत नै हो। अझ उनीहरुले त कालापहाड नै भन्छन्। यहाँका पुरुषहरु हिँउदे बाली लगाएर गएपछि चैत्रमा फर्किन्छन्। बैशाखमा हिउँदेबाली भित्र्याउन तयार भइसकेको हुन्छ। फेरि बर्खेबाली लगाएपछि असार अन्तिम या साउन पहिलो सातातिर भारत छिर्छन्।
यतिबेला नेपालगन्जको जमुनाहा नाकामा रोजगारीका लागि भारत जाने कर्णालीका सैयौं पुरुष भेटिन्छन्। परिवारका लागि दसैंमा एकसरो भए पनि नयाँ लत्ताकपडा र खर्च जोहो गर्ने सपना बोकेर सीमा पार गर्नेहरु लस्करै भेटिन्छन्।
कर्णालीमा यतिबेला धान रोपेर पनि गोडिसकिएको छ। त्यसैले पनि दसैंकाे खर्च जोहो गर्न पुरुषहरु काम खोज्दै भारतर्फ जान लागेका हुन्। आफ्नै ठाउँमा सितिमिति काम नै पाउँदैन। पाइए पनि काम अनुसारको ज्याला पाइँदैन। कम्तिमा तीन महिना नै भए पनि केही बचत हुने भएका कारण यहाँका पुरुषहरु भारत जाने गर्छन्।
यस्तै सुर्खेतका रामबहादुर विक पनि बर्खेबाली लगाइसकेकाले काम खोज्दै भारतर्फ गएका छन्। जमुनाहा सीमा नाकामा भेटिएका उनी पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका छन्। ‘जेठको महिना खेती लगाउन आएको थिएँ। काम पनि सकियो, अब घर बसेर के गर्नु? पहिल्यैदेखि त्यहीँ काम गर्न बानी परेकाले पनि होला घर बस्न मन लाग्दैन’, उनी भन्छन्।
सर्खेतकै सुरज विक पनि बर्सेनि रोजगारीका लागि भारत जाँदै आएका छन्। गाउँमा भनेजस्तो काम नपाइने र पाएको कामको पनि उचित पारिश्रमिक नपाइने उनको गुनासो छ। ‘यहाँ भनेजति ज्याला पाइँदैन। यहाँ थोरै ज्यालामा काम पाइए पनि घरमै हुँदा पैसा जोगिँदैन। भारतमा हुँदा केही महिनासम्म बचत हुन्छ। घर आउँदा एकैपटक ऋण तिर्न र अन्य खर्च चलाउन पनि सहज हुन्छ’, उनी भन्छन्।
गाउँमा गरेको कामले परिवारलाई एकसरो कपडा दिलाउन पनि मुस्किल पर्ने उनको भनाइ छ। कर्णाली मात्रै होइन, यतिबेला सुदूरपश्चिमका पुरुषहरु पनि रोजगारीका लागि भारत गइरहेका छन्। कोही त परिवारसहित पनि जाने गरेका छन्। आफ्नो खेतीपाती नभएकाहरु बालबच्चा र पत्नीसहित रोजगारीका लागि भारत जाँदै आएका छन्।
यतिबेला उमेर ढल्केकादेखि मध्य तथा सुदूरका युवायुवतीसमेत कमाइका लागि भारततर्फ गएका छन्। कर्णाली र सुदूरपश्चिमका युवाको मुख्य राेजगारीको गन्तव्य नै भारत हो। कोही घरखर्च चलाउन त काेही आफ्नो पढाइ खर्च जोहो गर्न पनि काम गर्न भारत जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।