काठमाडौं–नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई सात अर्ब रुपैयाँ राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो। काठमाडौँमा शनिबार आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद एक लाख रुपैयाँ र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गरेका हुन्।
त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही रु ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरे। मन्त्री कार्कीले शनिबार नै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गरे।
टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकामा खुसी व्यक्त गरे। उनले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।