काठमाडौं–बाजुराको बडिमालिका नगरपालिका र पर्यटन बोर्डबीच प्रसिद्ध धार्मिक क्षेत्र बडिमालिकाको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ। नगरप्रमुख अमर खड्का, नगरप्रवक्ता धर्मराज उपाध्याय तथा पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीबीच बिहीबार बडिमालिकामा जनै पूर्णिमाका दिन लाग्ने धार्मिक मेलाको व्यवस्थापन र पर्यटन आकर्षणबारे छलफल भएको हो।
बडिमालिका क्षेत्रको तीर्थ यात्रा र साउन २७ गते धार्मिक मेला सुरु हुने भएकाले त्यस क्षेत्रको प्रचारप्रसारका लागि बोर्डले आवश्यक पहल गर्ने प्रतिबद्धता कार्यकारी निर्देशक रेग्मीले जनाएको प्रवक्ता उपाध्यायले जानकारी दिए।
स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पर्यटन व्यवसायी प्रतिबद्ध नभएसम्म पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढ्न नसक्ने बताउँदै नगरप्रमुख खड्काले भने, ‘त्यसका लागि नीतिगत र योजनाका हिसाबले प्रचारप्रसार गर्न तयार छौं।'
वडा नम्बर ७ का वडाध्यक्षसमेत रहेका प्रवक्ता उपाध्यायले सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकालाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन बोर्डले विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताए।
बडिमालिका मन्दिरमा प्रत्येक वर्ष साउन पूर्णिमाका दिन मेला लाग्ने गर्दछ। यहाँको पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै ‘बडीमालिका यात्रा वर्ष’ घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।