फाइल तस्बीर
काठमाडौं– बञ्चरेडाँडाका स्थानीयहरूले ल्याण्डफिल्ड साइट जाने बाटो नबनेको भन्दै बिहीबार बिहान फोहोर फाल्न गएका गाडी रोके।
ल्याण्डफिल्ड साइटसम्म पुग्ने बाटो समयमै नबनाएको भन्दै स्थानीयले बिहीबार बिहान फोहोर लिएर गएका गाडी रोकेका थिए। बञ्चरेडाँडा सङ्घर्ष समितिका संयोजक श्रीराम ढुंगानाले ल्याण्डफिल्ड साइट जाने बाटो पूर्ण रूपमा निर्माण सम्पन्न नभइ फोहोर ल्याएको भन्दै आफूहरूले बिहान फोहोरको गाडी रोकेको बताए।
‘सहरी विकास मन्त्रालय र महानगरले यहाँ आउने बाटो बनाउने भनेर सुरुवात त गर्यो तर निर्माण कार्य सम्पन्न नहुँदै फोहोर ल्याउन सुरु भयो। यसरी समयमा नै बाटो नबन्दा यहाँका स्थानीयलाई हिँड्नसमेत गाह्रो भएको छ। त्यसैले हामीले बिहान फोहोर बोकेर आएका गाडीहरू रोकेका हौं,’ उनी भन्छन्, ‘पहिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यहाँ काम गर्ने गरेको थियो। तर हामीले यहाँ आउने बाटो निमार्णको काम सहरी विकास मन्त्रालयले गर्ने भनियो। प्राविधिकहरू धेरै भएको मन्त्रालयले काम गर्ला भनेको तर समयमा काम गर्नै सकेन।’
उनी अहिले उपत्यकाका १८ वटा नगरपालिका र सहरी विकास मन्त्रालयले नै उदासिनताका कारण बञ्चरेडाँडाकाबासी समस्यामा परेको बताउँछन्। अहिलेसम्म भएका सहमतिको कार्यान्वयनको लागि कुनै पनि निकायले चासो नदेखाएको ढुंगानाको गुनासो छ।
उनले भने, 'अहिलेसम्म भएका सहमितिमध्ये कुनै पनि कार्यान्वयनमा आएका छैनन्। यसरी नै स्थानीयलाई झुक्क्याउने हो भने बञ्चरेडाँडामा फोहोर फाल्न सदाको लागि बन्द गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।