भक्तपुर–साँझ सामान्य अवस्थामा सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो। दुई वटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएका थिए। विस्तारै आँखा चिलाउने र पानी बग्ने पनि हुन थाल्यो। दुवै आँखा रातो भएपछि घरबाट बाहिर निस्कन समस्या पर्यो ।
अचेल सुवासको मात्रै होइन, धेरैमा यो समस्या देखिएको छ। मध्यपुरथिमि नगरपालिका–१ स्थित बीपी नेत्र प्रतिष्ठानमा आँखा पाक्ने रोगको समस्या लिएर दैनिक सयभन्दा बढी बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका आँखा रोग विशेषत्र डा अर्जुन श्रेष्ठले केहीदिन यता आँखा पाक्ने रोग निकै बढेको बताए। उनले भने, ‘आँखा पाक्ने रोगको प्रकोप बढेको छ, दैनिक सयभन्दा बढी बिरामी त यही रोग लिएर आउँछन्, फेरि यो सरुवा रोग हो, यसबाट सचेत हुनै पर्छ।'
प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र क्लिनिकहरुमा बिरामीको चाप बढेको छ।
भक्तपुरमा आँखा क्लिनिक सञ्चालन गर्दै आएका ओम श्रेष्ठले एक साता यता आँखा पाक्ने रोगको बिरामी बढेको बताए। दैनिक ४० जनाभन्दा बढी यो रोग लिएर उपचारका लागि आउने गरेको बताउँदै उनले अस्पतालमा यसको चाप बढेको बताए।
नेत्र रोग विशेषज्ञ डा अमृतमान पौडेल अहिले कुनै लक्षण नै नदेखाइ एक्कासी आँखा पाक्ने रोग लाग्ने गरेको बताउँछन्। आज सुत्ने बेलासम्म ठिक भए पनि भोलिपल्ट बिहान उठ्दा आँखा पाकिरहेको, सुन्निरहेको हुने भएकाले परिवारमा पनि छिट्टै सर्न सक्ने उनी बताउँछन्।
यसबाट बँच्न रोग भएकाले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानजस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।