काठमाडौं- रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विभाग अन्तर्गको बाढी पूर्वानुमान महाशाखाले रामेछापको खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ। घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
केही दिन यता देशका विभिन्न भागमा वर्षा भइरहेकाले भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।