सुदूरपश्चिम–कोरोना रोकथाममा नागरिकहरुबाट भइरहेको लापर्बाहीले यो रोगको संक्रमण पछिल्ला दिनमा बढ्न थालेको छ। संक्रमितलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र संक्रमित स्वयंले पनि चासो नदिँदा कोरोना संक्रमण दिनहुँ बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र संक्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा संक्रमण बढेको बताए।
मास्क लगाएर संक्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन। सीमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेसनमा पठाउने गरिएको छ।
‘हेल्थ डेस्कमा नमूना परीक्षणबाट कोरोना पोजेटिभ देखिने बिरामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएर होम आइसोलेसनमा बस्नुपर्ने सल्लाह दिन्छौँ,' अहेब साउदले भने, ‘पोजेटिभ बिरामीको उपचार व्यवस्थापनका साथै संक्रमण थप फैलिन नदिन सम्बन्धित पालिकाले चासो नलिँदा पनि रोकथाम हुन सकिरहेको छैन।'
धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेसन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन। नेपाली सेनामार्फत् निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताए। उनले भने, ‘एक–दुई दिनभित्र सरोकारवालासँग बैठक राखेर रोकथामको प्रयास गर्न लागेका छौँ।'
एकै दिन १९ जनामा संक्रमण
सुदूरपश्चिम प्रदेशमा सोमबार एकै दिन १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन पद्धतिबाट ४१४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन्।
आइतबारसम्म १३ जना सक्रिय बिरामी रहेकामा सोमबार एकै दिनमा यो संख्या बढेर २३ पुगेको छ। सोमबार थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार ८१० संक्रमित पुगेका छन्।
कोरोना भाइरसको आशंकामा आइतबार २२३ र सोमबार ४१४ जनाको स्वास्थ्यको नमूना परीक्षण गरिएको थियो।
छिमेकी देश भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ। प्रदेशका विभिन्न सीमानाकाबाट आइतबार २८२ र सोमबार ३७७ जना नेपाल भित्रिएका छन्। सीमानाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको एन्टिजेन विधिबाट स्वास्थ्यको नमूना परीक्षण हुने गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।