धनगढी–सुदूरपश्चिम प्रदेशको संसदीय टोलीले कैलारी गाउँपालिका र र भजनी नगरपालिकाको बाढी तथा डुबानबाट विस्थापित क्षेत्रको अनुगमन गरेको छ।
प्रदेशको विधायन तथा प्रदेश मामिला समितिले कैलारी गाउँपालिका ३ स्थित शिवरत्नपुर, भजनी नगरपालिका ७ हिम्मतपुर र भजनी नगरपालिका ५ पुलियापुर बस्तीको सोमबार अनुगमन गरेको हो।
विधायन तथा प्रदेश मामिला समिति सभापति नेपालु चौधरीको नेतृत्वमा गएको टोलीले मोहना नदी र कान्द्रा नदीका कारण विस्थापित परिवारहरुसँग भेटघाट तथा समस्याबारे जानकारी लिएको थियो।
मोहना नदीले कटान गरेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएको स्थानीयहरुले समितिलाई जानकारी गराएको हो। समितिका सदस्य पूर्णा जोशीले प्रतिवेदन तयारी गरी प्रदेश सरकारलाई बुझाउने बताइन्।
‘हाम्रो समिति ऐन कानुनसँगै विपदबाट प्रभावित परिवारको खोज, उद्दार तथा राहतमा सरकारलाई जिम्मेवार बनाउने समिति पनि हो’ उनले भनिन्, ‘हामीले यस प्रदेशको बाढी, पहिरो तथा डुबानलगायतका विपदका घटनाबाट विस्थापित परिवारको समस्या समाधान, खोज तथा राहतमा सरकारलाई जिम्मेवार पनि बनाउने काम हो।’ उनले दुई वटा स्थानीय तहको अनुगमन गर्दा विस्थापित परिवारको उचित बसोबासमा प्रदेश सरकारले ध्यान दिन नसकेको बताइन्।
शिवरत्नपुर बस्तीका स्थानीय सन्तराम चौधरीले सो बस्तीका ९५ घरधुरी बाढी कटानको जोखिममा रहेको बताए। १६ घरधुरी जोगाउन बनाएको भौतिक तथा जैविक तटबन्ध बगाएपछि उच्च जोखिममा रहेको १६ घरधुरी विस्थापित भएको जानकारी दिए। विस्थापित भई त्रिपालमा बसिरहेको १६ घरधुरीको लागि खानेपानी, शौचालयको समस्या रहेको जानकारी दिए।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले शिवरत्नपुरमा बर्सेनि बाढी, डुवान र कटानको समस्या रहेको बताए। उनले बाढीबाट विस्थापित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न त्रिपालको व्यवस्था गरिएको जानकारी दिए। पालिकाबाट शौचालय र खानेपानीको समेत व्यवस्था गरिने उनले बताए। ‘अहिले वर्षा सुरु छ, तत्काल तटबन्ध गर्न सकिने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष चाैधरीले भने, ‘विधायन तथा प्रदेश ममिला समितिले भर्खर अनुगमन गरेको छ। बस्ती जोगाउन गुरुयोजना बनाएर तटबन्ध गर्न आवश्यक छ। त्यसको लागि प्रदेश र संघीय सरकारसंग समन्वय गर्छौं।’
यस्तै, पलियापुरका नौ घरपरिवारहरु कान्द्रा नदीका कारण प्रभावित भई सडक छेउमा बसोबास गरिरहेका छन्। उनीहरुले हरेक वर्ष कान्द्राका कारण डुवानको समस्या झेल्दै दशैंतिहारसम्म सडकमा त्रिपाल लगाएर बस्नुपर्ने बाध्यता रहेको प्रतिक्रिया दिएका थिए।
भजनी नगरपालिका ७ हिम्मतपुरका बासिन्दाले मोहना नदीले जग्गा कटान गर्दा विस्थापित हुनुपर्ने अवस्था आएको बताए। सो बस्ती हरेक वर्ष कटान हुन लागेपछि नजिकै रहेको बसन्ता जैविक मार्ग क्षेत्रको सामुदायिक वनभित्र अस्थायी घर बनाएर बसोबास गर्दै आईरहेका छन्।
अनुगमनमा विद्यायन तथा प्रदेश ममिला समितिका सदस्य पूर्णा जोशी, मालामति राना, श्यामलाल राना, शान्ति नेपाली, लालबहादुर खडका, गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरी, विओपी खोनपुरका प्रमुख सूर्य खडका तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।