काठमाडौं– बलिउडमा मिथुन चक्रवर्तीको पहिचान छुट्टै छ। सकारात्मकदेखि नकरात्मक भूमिका दुबैमा उनी स्थापित अभिनेतामा पर्छन्।
यीनै अभिनेताले हालसालै आफ्नो संघर्षको दिन सम्झिदैं एक अन्तर्वार्तामा करिअरको सुरुवाती समयलाई याद गरेका छन्। उनले आफूलाई फिल्म क्षेत्रमा प्रवेश गर्दै गर्दा सपना पूरा गर्न सक्दिनँ भन्ने लागेर आत्महत्या गर्नेसम्मको सोच आउने गरेको बताएका छन्।
अन्तर्वार्तामा उनले आफूलाई आत्महत्या गर्ने सोच आउने गरेको सम्झिएका छन्। उनले बताएअनुसार आफ्नो जन्मस्थान कोलकत्ता जाने कुनै अर्थ नभएको र बलिउड फिल्म क्षेत्रमा पनि आफ्नो करिअर नबनेमा के गर्ने भन्ने सोचले सताउँदा यस्तो सोच आउने गरेको थियो। टायम्स अफ इण्डियासँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘सामान्यतया म यस्तो कुरा गर्दिन। मेरो संघर्षको समयमा म निकै हत्तोत्साही भएको थिएँ। सबैले संघर्ष गरिरहेका थिए, तर मेरो संघर्ष अरुकोभन्दा धेरै थियो।’
मिथुनले आफूलाई कहिल्यै पनि आफ्नो लक्ष्य पुरा गर्न सक्छु भन्ने आत्मविश्वास नआएको बताएका छन्। यस्तो बेला आफूले आफूलाई निकै कमजोर ठानेको उनी सम्झिन्छन्। उनी भन्छन्, ‘मलाई आफ्नो लक्ष्य पुरा गर्न सक्दिनँ जस्तो लाग्थ्यो। आत्महत्या गर्ने पनि सोच्थें। कलकत्ता पनि फर्किएर जान सक्ने अवस्था थिएन्। तर, संघर्ष नगरि जीवन अघि बढ्दैन भन्ने बुझ्दै गएँ।’
मिथुन पछिल्लो पटक विवेक रञ्जन अग्नीहोत्रीको निर्देशनमा बनेको फिल्म ‘द कश्मिर फाइल्स’मा देखिएका थिए। त्यस यता उनी ज्याकी श्राफसँगको अर्को फिल्मको छायांकनमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।