पाल्पा- पाल्पाको रिब्दीकोट–२, लघुवामा बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ। आइतबार साँझ बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो।
मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८, का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–७, बस्ने ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह नपा–७, बस्ने वर्ष ८७ की डिलसरी कामी रहेको प्रहरीले जनाएको छ।
यस्तै गरी कपिलबस्तु बाणगंगा नगरपालिका–२, बस्ने ४५ वर्षका सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नपा–५, की २४ वर्षीया पूर्णीमा कामी र बाग्लुङ बडिघार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षकी यमकला थापा रहेका छन्।
दुर्घटनाका घाइते १६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। गम्भीर घाइते रुपन्देही देबदह–७, का ६१ वर्षीय खड्गबहादुर विक र म्याग्दी रुमा गाउँपालिका–२, की २८ वर्षीया सुमित्रा रोका रहेको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ।
उपचाररत ८ जनाको डिस्चार्ज भइसकेको छ। बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि हिँडेको लु१ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट १५० मीटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।