काठमाडौं- 'मलाई त्यति बोल्न मन छैन आजकाल। सञ्चारमाध्यममा नबोलेको ९ महिना भएछ। यस्तो कार्यक्रममा पनि बोलेको छैन। अस्ति प्रचार नै गरिसकेपछि एउटा कार्यक्रममा बोलेँ', माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबारको एउटा कार्यक्रममा आफ्नो सम्बोधनको सुरुवात विरक्तिबाट गरे।
'विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति' विषयक कार्यक्रममा उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'सट्टा वक्ता' थिए। त्यसैले सुरुमै स्पष्ट पारे, 'अध्यक्ष प्रचण्ड अन्तै व्यस्त भएपछि उहाँले पठाएर आएको हुँ। तर सट्टाभर्ना विचारमा नहुन सक्छ। मचाहिँ मै बोल्छु।'
फेरि थपे- बोल्न मन नगर्नुको कारण छ। बदलिनुपर्नेहरु बदलिँदैनन्, बदलिन दबाब दिनेहरु 'वकिल' भएका छन्। यहीँनेर पूर्ववक्ता एकीकृत समाजवादीका नेता माधव नेपालको भनाइप्रति बेखुसी प्रकट गर्दै कार्यक्रममा बसेको भए 'वाद-विवाद' जस्तो पर्ने बताए। एमसीसी व्याख्यात्मक घोषणासहित पास गरेको नेपालले बताएका थिए। त्यसमा श्रेष्ठको असन्तोष थियो, 'नेपालजीले कस्तो विवेक पुर्याएर व्याख्यात्मक घोषणासहित एमसीसी पारित भयो भनेर जानुभयो। उहाँ गइसक्नुभयो। कसलाई भन्नु? के भन्नु?'
कार्यकर्ता 'वकिल' जस्ता
उनले नेताहरुप्रति तीतो पोख्ने क्रममा नीति, आचरणमा प्रभाव पार्ने र निर्णय गर्नेहरु बदलिन तयार नभएको बताए। 'बदलिन दबाब दिनेहरु पार्टीको र नागरिक समाजकका बौद्धिक भन्नेहरु एकएक दलको झन्डा बोकेर वकिल भएका छन्,' उनले दर्शकतिर औँलो सोझ्याउँदै थपे, 'तपाईंहरु पनि वकिल हुनुहुन्छ। धेरैजना यहाँ पाँचदलीय गठबन्धनका वकिल हुनुहुन्छ। धेरैजना एकीकृत समाजवादीका वकिल हुनुहुन्छ।'
'वकिल'को अर्थ खुलाए- मुद्दा आएपछि ज्यानमारा नै होस्, बलात्कारी नै होस् पक्षमा बहस गरिहाल्छ। वकिलले पैसा लिएर गर्छ। अदालतमा गर्छ।
उनले वकिलको पेशा भएकाले 'धन्दा' चलाउन दिन भने। तर बौद्धिकवर्ग र कार्यकर्ताको 'वकिलीकरण'मा उनको चित्त दुखाइ थियो। तीतो पोख्ने क्रम जारी रह्यो, 'आफ्ना पार्टीका नेताले के भन्छ? गुटका नेताले के भन्छ? गठबन्धनका नेताले के भन्छ? त्यही भन्यो, त्यसैको पक्षमा झन्डा उठायो। हुन्छ त्यसरी? कोही ठिकलाई ठिक भन्ने र बेठिकलाई बेठिक भन्ने साहस गर्न तयार छैन। बन्छ के?'
युवामाथि पनि उस्तै गुनासो
नेता श्रेष्ठ पार्टीहरुभित्र ठूलै विचारको बहस जरुरी रहेको निष्कर्षमा पुगेका छन्। अहिले जसरी पार्टीहरु चलेका छन्, त्यसले कहीँ नपुर्याउने उनलाई लाग्न थालेको छ। आफू अहिले विचार, बहस र अन्तर्वार्ताबाट टाढिनुको कारण आफैंले प्रस्तुत गर्दै गए।
अब विचारधारात्मक सांस्कृतिक आन्दोलन जरुरी भएको छ। पार्टीका नेता बदलिउन्। पार्टीहरु बदलिउन्,' उनले भने, 'सामान्य ढंगले बोलेर मात्रै हुनेवाला छैन। के गर्ने हो के, गर्ने के हो? ठूलै आन्दोलन चलाउनु जरुरी छ। एक प्रकारले माओको सांस्कृतिक क्रान्ति जस्तो। तरिका वा रुप फरक गरेर ठूलो मुभमेन्ट कम्युनिस्ट पार्टीमा वा नेपालका पार्टीमा नचलाई जति ठूला कुरा गरे पनि लागू हुनेवाला छैन।'
पार्टी कार्यकर्ता र नागरिक समाजका मान्छेहरु आलोचनात्मक चेतयुक्त र देशभक्त नागरिक बन्न अहिलेकै अवस्थामा गाह्रो हुने बताए।
त्यसपछि उनीबाट युवाप्रतिको असन्तुष्टि सुरु भयो। उनले आक्रोश भावमा भने, 'युवा भन्ने त कस्तो छ भने आफ्नै बलबुतामा नेतृत्व फेर्ने र गर्ने साहस छैन। कुन गुटको कुन नेताको फेरो समातेर पदमा पुग्ने हो। कुन कमिसनखोरको फेरो समातेर जीवन सम्पन्न गराउने भन्नेमा छ। युवा पनि कहाँ पुग्यो, कहाँ पुग्यो?'
विषय प्रवेश फेरि असन्तुष्टि नै
भूमिकामै लामो समय खर्चिएपछि उनी कार्यक्रमको विषय 'विश्वको भू-राजनीतिक तनाव र नेपालको परिस्थिति'मा आइपुगे। वर्तमान तनावका तीन कारण बुँदागत राखे।
उनका अनुसार पहिलो कारण हो- एक साम्राज्यवादी अमेरिका खस्किने अवस्थामा छ। कसरी महाशक्ति रहने भनेर नीत, योजना र कदम चाल्दैछ। त्यसको विरुद्धमा दोस्रो अर्थतन्त्रबाट पहिलो अर्थतन्त्रतर्फ बढिरहेको चीन छ। ऊ शक्तिमा पनि पहिलो हुने चरणमा छ। विश्व अन्तरविरोध मुख्य कारण यो हो। यो शितयुद्ध बन्ने खतरा रहेको बताउँदै नेपाल त्यसको 'इपीसेन्टर' बन्ने आशंका रहेको बताए।
दोस्रो कारण, साम्राज्यवाद र त्यसको विरोधी आन्दोलन रहेको बताए तर त्यो त्यति सशक्त नभएको उनको बुझाइ छ। तेस्रो, अमेरिकी नेतृत्वमा अघि बढिरहेको पुँजीवाद र त्यसका विरुद्धको समाजवादी आन्दोलन रहेको उनको ठहर छ तर यो पनि बलशाली नभएको उनी बताउँछन्।
नेपाल भूरणनीतिक कारणले बढी प्रभावित हुने उनी बताउँछन्। विश्व शक्तिको दौडमा रहेको चीनको छिमेकी र एसियामा प्रभावशाली रहेको भारतको छिमेकी हुँदा तनाव बढी हुने बताए।
फेरि नेताहरुप्रति नै असन्तुष्टि
भूराजनीतिक तनाव नेपालको कमजोर लोकतन्त्र र राजनीतिक नेतृत्वको कमसल गुणस्तरले बढाउने उनको बुझाइ छ। 'हाम्रो लोकतन्त्र कमजोर छ। राजनीतिक नेतृत्वको गुणस्तर राम्रो देखिएन,' उनले भने, 'अर्को कुरा हाम्रो अर्थतन्त्र पनि कमजोर छ। नेतृत्वको गुणस्तरमा कमी आएका कारण चुनौती थपिएको छ।'
उनले नेताहरुको वैचारिक सांस्कृति स्खलनको समस्या रहेको बताउँदै देशप्रतिको निष्ठामाथि समेत प्रश्न गरे। आलोचनाको तीव्रता बढाए, 'हाम्रो तात्कालीन राजनीतिक स्वार्थबाट प्रेरित समस्या हो। त्यसकारण चुनौती थपिएको छ। वैचारिक अस्पष्टता समेत पैदा भएको छ।'
राष्ट्रिय पुँजीको विकास गर्न अघि बढ्नुपर्नेमा पश्चिमा पुँजीवादी मोडलबाट अघि बढ्न खोजिएको उल्लेख गरे। समाजवादउन्मुख नभई विश्व अर्थतन्त्रले ल्याएका चुनौती सामना गर्ने सम्भव नरहेको उनको भनाइ छ। 'वामपन्थीले सरकार चलाउँदा नवउदारवादी नीतिको कुनकुन बुँदामा विरोध गर्यौं? कु-कुन लागु नगर्ने भन्यौं?,' उनले तीतो पोख्दै गए, 'हाम्रो देश आफैं निर्णय गर्न सक्दैन। नवउपनिवेश स्वीकार गरिसकेको छ।'
के गर्ने अब?
श्रेष्ठले दर्शकदीर्घातर्फ प्रश्न गरे- के गर्ने त अब?
आफ्ना कुरा दर्शकलाई 'चित्त परेको' महसुस भएपछि श्रेष्ठले भाउ खोजे- सुन्न तयार हुनुहुन्छ भने भन्छु। भाषण गर्न नपाएर भाषण गर्ने हो र? समय र श्रमको त्यत्रो कुरा गरियो, किन बर्बाद गर्ने? मेरा कुरा टायरमा गुच्चा हानेजस्तो यतै फर्किने हो भने किन भन्नु?'
दर्शकले एकस्वरमा भने- कुरा सुन्न तयार छौं
श्रेष्ठले राजनीति सफा नगरी केही नहुने भन्दै अर्को चरणको असन्तुष्टि सुरु गरे। 'हरेक पार्टीमा, विशेषगरी कम्युनिस्ट आन्दोलनमा शुद्धीकरण चलाउनुपर्छ। त्यो सम्भव भएन भने कुरेर बसेर हुँदैन। पहिलो सफाइ अभियान चलाउनुपर्छ। राजनीति सफा नगर्ने राष्ट्रियताका कुरा गरेर हुन्छ?'
उनले राजनीति सफा गरे मात्रै देश बन्ने बताए। सरकार जाने तथा पद जाने चिन्ताले राष्ट्रियता संकटमा परेको उल्लेख गरे। राजननीति सफा गरेपछि देशभक्ति आन्दोलन चलाउनुपर्ने बताए। यसका लागि तत्कालीन स्वार्थ तपसिलमा राख्न सक्ने हिम्मत जरुरी हुने बताए।
'राजनीतिक स्वार्थका निम्ति विदेशी हस्तक्षेप स्वीकार्ने वा आमन्त्रण गर्ने काम बन्द गर्नुपर्छ। आफूलाई भएचाहिँ वातावरण मिलाउने भन्ने?' उनले प्रश्न गरे।
पार्टी चलाउने वा चुनाव लड्न विदेशीको पैसा लिन नेताहरुले बन्द गर्नुपर्ने बताउँदै आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विदेशी सरकार र राजदूतबाट सहयोग लिन बन्द गर्नुपर्ने बताए।
उनी थप अघि बढे, 'छोराछोरी वा नातेदारलाई छात्रवृत्ति दिलाउन दूतावास धाउन बन्द गर्नुपर्यो। यति गरौं न। हामी वस्तुनिष्ठ रुपमा जाँदा हामीलाई कमजोर बनाइरहेका यी कुरा छाड्नुपर्यो।'
आफूतिर चारऔंला फर्काएपछि फेरि कार्यकर्तातर्फ चोरऔँलो सोझ्याए- देशभक्त नागरिक बनौं। पार्टीमा हुनुपर्छ तर त्यसको पनि एउटा सीमा हुन्छ नि। अन्धसमर्थक ठिक छैन र अन्धविरोधी पनि ठिक हैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।