काठमाडौं– भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक भइरहेका सरकारी गतिविधिसम्बन्धी सूचनामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे प्रश्न उठाइएको छ।
पत्रकार तथा लेखक भानुभक्त आचार्यले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको पेजमा प्रकाशित बाढीसम्बन्धी पोस्टहरूको भाषा तथा संरचना एआई टुलबाट परीक्षण गर्दा कतिपय सामग्रीमा ५० प्रतिशतभन्दा बढी एआई कन्टेन्ट देखिएको दाबी गरेका छन्। यद्यपि उनले पोस्टमा समेटिएका सूचना तथ्यपरक हुनसक्ने र भाषा सम्पादनका लागि एआई प्रयोग गरिएको हुनसक्ने बताएका छन्।
उनले यस्तो विपद्का बेला संघीय सरकारले नियमित पत्रकार सम्मेलन वा औपचारिक प्रेस विज्ञप्तिमार्फत सूचना सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन्। सरकारी सूचना सम्प्रेषणको जिम्मेवारी प्रधानमन्त्रीको व्यक्तिगत सामाजिक सञ्जालमा मात्र निर्भर हुनु उपयुक्त नहुने उनको भनाइ छ।
एआई टुल प्रयोग गर्दा भाषामात्र सम्पादन नभई त्यसमा समावेश सूचना सम्बन्धित कम्पनीका मोडलको प्रशिक्षण वा अन्य व्यावसायिक प्रयोजनमा प्रयोग हुनसक्ने सम्भावनातर्फ पनि प्रधानमन्त्री कार्यालयले ध्यान दिनुपर्ने उनले बताएका छन्।
एआईको प्रयोग पूर्ण रूपमा निषेध गर्नुपर्ने आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै उनले नैतिक सीमाभित्र रहेर गुणस्तर सुधारका लागि एआई प्रयोग गर्न सकिने बताएका छन्। तर नेपाली भाषाको सम्पादनमा एआईको क्षमता सीमित रहेको उल्लेख गर्दै उनले सरकारी निकायले नेपाली भाषा सम्पादनका लागि आफ्नै दक्ष जनशक्तिमाथि विश्वास गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।