काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले संगठनको तर्फबाट प्रधानमन्त्री दैवै प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रकम जम्मा गर्ने भएको छ । कर्मचारीको तलब कट्टा गरि राहत कोषमा जम्मा गर्नुका साथै बाढिमा परि मृत्यु भएका कर्मचारिका आश्रीत परिवारलाई तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।
जस अनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन् ।
बि.ओ.पि. टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा गरिने छैन । मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रीत परिवारलाई राष्ट्रसेवकहरुको तर्फबाट तत्काल रु. १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरुको मृत्यु भएमा निजको हकवाला/आश्रीत परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि,२०७९ बमोजिम रु ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष संचालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम रु. ५ लाख समेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय भएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसका साथै मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरुलाई पायक पर्ने नेपाल ए.पी.एफ. स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय समेत संगठनले गरेको छ । सशस्त्र प्रहरी कर्मचारीका आश्रीत परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरुप प्रतिव्यक्ति रु. १ लाख तत्काल उपलब्ध गराउने र सोही बाढीको कारणबाट मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक समेत निर्माण गरिने भएको छ ।
मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रीत परिवारका १/१ जना सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गर्ने र सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत स्वरुप जनही रु. ५० हजारका दरले तत्काल उपलब्ध गराउने समेत संगठनले निर्णय गरेको छ । यसका साथै बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख¸ घरवार विहिन भएमा १ लाख र आंशिक रुपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु. ५० हजार सम्म तत्काल उपलब्ध गराउने निर्णय समेत भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।