काठमाडौं–झापामा तीन किशोरी मृत्यु घटनाको अनुसन्धान प्रक्रिया प्रहरीले सुरु गरेको छ। आइतबार बिहान तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परको भन्ने जानकारी आउनसाथ घटनास्थल पुगेको प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको हो।
फरेन्सिक विज्ञसहितको टोली घटनास्थल लगेर मुचुल्का उठाई शव पोष्टमार्टमका लागि पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या गरेको हुनसक्ने विश्लेषण गरे पनि यसको कारण भने खुलिुसकेको छैन। यद्यपि, पोष्टमर्टम रिपोर्टपछि मात्रै आत्महत्या कि हत्या हुने पुष्टि हुने प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा मृत भेटिएका तीनै किशोरी शनिबार दिउँसो १२ बजे घरबाट घुम्न भनेर निस्केको पाइएको छ। झापाको कचनकवल गाउँपालिका–५ दले गाउँ बस्ने पुलुवा गणेशकी १७ वर्षीया छोरी अन्जली, सोही ठाउँ बस्ने पञ्चम गणेशकी छोरी १६ वर्षीया करिना र बिरबल गणेशकी छोरी १७ वर्षीया कल्पना १२ बजे घरबाट निस्केको पाइएको डीएसपी पाठकले जानकारी दिए।
उनीहरु बेलुकासम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आइतबार झुण्डिएको अवस्थामा शव फेला परेको हो। डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा सुनकोशी चिया बगान नजिकैको बयरको रुखमा उनीहरु फेला परेका थिए।
तीनै जना चिया बगानमा काम गर्ने किशोरीहरु रहेको पाइएको छ। घटनाको विस्तृत अनुसन्धानको प्रक्रिया सुरु गरिएको झापा प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।