धनगढी– महिनावारीको समयमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवनयापन गर्नका लागि भेदभाव नगर्ने प्रतिबद्धतासहित १४ बुँदे धनगढी घोषणापत्र जारी गरिएको छ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा मर्यादित महिनावारीका लागि आयोजित तीनदिने धामी–झाँक्री सम्मेलनले महिनावारी भएका बेला किशोरी तथा महिलालाई महिनावारी पारिवारिक वातावरण तयार गर्ने प्रतिबद्धतासहित १४ बुँदे घोषणापत्र जारी गरेको हो।
मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झा“क्रीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गर्न धामी–झाँक्री तयार भएका छन्।
‘महिनावारीको रगत पवित्र हो। यो नै सृष्टिको आधार हो। यसलाई मर्यादित बनाउनुपर्छ। मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी हो भन्ने कुराको बोध भएको छ। तसर्थ, धामी–झाँक्रीले महिनावारी भएका किशोरी र महिलालाई छुवाछूत नगरी उचित सम्मान प्रकट गर्दै महिनावारीलाई मर्यादित बनाउन विशेष पहल गर्नेतर्फ कटिबद्व छौं’, सो घोषणापत्रमा भनिएको छ।
समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सिर्जना गर्न उनीहरुलाई कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्मेलनमा सहभागी धामी–झाँक्रीहरुले घर परिवारमा मर्यादित महिनावारीमैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार गर्ने बताएका छन्।
‘हामी धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको बारेमा सू–सूचित गर्नेछौं, घरमा मर्यादित महिनावारी सम्बन्धी सूचना तथा सन्देशहरु टाँस गर्ने/गराउने छौं, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्नेछौं’, घोषणापत्रमा भनिएको छ।
यस्तै विद्यालयलाई पनि मर्यादित बनाउन स्थानीय तहसँग समन्वय गरेर जनचेतनामुलक कार्यक्रम गर्ने र महिनावारी भएका समयमा किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्ने धामीहरुले बताएका छन्।
पालिकाले धामी–झाँक्री, अभियान्ता, पत्रकार आदिलाई मर्यादित महिनावारीको प्रचार–प्रसार गर्न परिचालन गर्ने, समाजमा आध्यात्मिक र धार्मिक गुरुका रुपमा पहिचान पाएका हामी धामी–झाँक्रीहरुमध्ये मर्यादित महिनावारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्नेहरुका लागि उचित पुरस्कार प्रदान गर्ने पनि घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।