काठमाडौं– बलिउड अभिनेता सलमान खानलाई केही समयअघि हत्या गर्ने धम्की प्राप्त भएको थियो। त्यसयता उनको सुरक्षा व्यवस्था बढाइएको छ।
हाल भने सलमानले भारतको मुम्बई प्रहरीका कमिश्नर विवेक फनसालकरलाई भेटेका छन्। उनले हतियार राख्ने अनुमति माग्नका लागि प्रहरी कमिश्नरलाई भेटेका हुन्।
गत महिना सलमान र उनका बुबा सलिम खानलाई भारतीय ग्यांगस्टर लरेन्स विश्नोईको तर्फबाट ज्यान मार्ने धम्की प्राप्त भएको थियो। एक पत्रमार्फत सलमानलाई धम्की दिइएको थियो।
पत्रमा सलमानको हालत पनि पञ्जाबी गायक सिद्धु मुसेवालाको जस्तै बनाइदिने भनिएको थियो। धम्कीले भरिएको पत्र प्राप्त भएयता सलमानले मुम्बई प्रहरीसँग हतियार राख्ने अनुमतिका लागि निवेदन दिएका छन्। उनले निवेदनमा आफ्नो सुरक्षाका लागि हतियार राख्न चाहेको बताएका छन्।
हाल सलमान ‘कभि इद कभि दिवाली’को छायांकनमा व्यस्त रहेका छन्। उक्त फिल्ममा सलमानसँगै पुजा हेगडे, शहनाज गिल र कृति सेननलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।