काठमाडौं–अनमोल केसीको मुख्य भूमिकामा बन्ने फिल्म ‘एक्स नाइन’मा मोडल नीति शाहको प्रवेश भएको छ। शुक्रबार फिल्मका निर्माता तथा निर्देशक मुकुन्द भट्ट र शाहबीच लिखित रुपमा सहमति भएको छ।
हाललाई भने मुख्य अभिनेत्रीका रुपमा नीतिलाई फिल्ममा अनुबन्धित गरिएको हो। फिल्म निर्माण पक्ष र नीतिबीच भएको सहमतिअनुसार उनलाई १० लाख परिश्रमिकमा फिल्ममा अनुबन्धित गरिएको छ। यही फिल्मका लागि अनमोलले भने निकै महंगो पारिश्रमिक लिएको निर्माण पक्षले बताउँदै आए पनि कति रकममा दुईबीच सम्झौता भएको छ भन्ने हालसम्म खुलाइएको छैन।
नेपाल बाहेक याे फिल्म क्यानडामा छायांकन हुने बताइएकाे छ। नेपालकै ठूलो एक्सन फिल्म भन्दै प्रचार गरिएको यो फिल्म यसअघि पनि पटक-पटक छायांकनमा जानेभन्दै तयारी नभएको होइन। तर, फिल्म हालसम्म छायांकनमा जान सकेको छैन।
फिल्ममा नीति र अनमोलसँगै सौगात मल्ल, पुष्प खड्का, राजीव तामाङ, विरेन कुँवर, सोनु खत्री, राज कटुवाललगायतका कलाकारको अभिनय हुने बताइएको छ भने भारतीय कलाकार सुनील शेट्टीलाई पनि फिल्ममा खेलाउने हल्ला निर्माण पक्षको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।