काठमाडौं–नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभाले बहुमतसहित विधेयक पारित गरेको हो। संघीय संसदको तल्लो सदनबाट पारित भएको विधेयक अब राष्ट्रिय सभामा पेश हुने छ। राष्ट्रिय सभाले पनि विधेयकमाथि छलफल गर्ने छ।
संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट पारित भएपछि यो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जाने छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुँदै लागू हुने छ। यो लागू भएपछि यसले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने छ।
के छ पारित भएको नागरिकता विधेयकमा ?
विधेयकमा केही व्यवस्था थप गरिएका छन्। गृहमन्त्रालयले असार तेस्रो साता प्रतिनिधि सभाको सचिवालयमा विधेयक दर्ता गराएको थियो। लामो समयदेखि संसदमा विचाराधीन रहेको विधेयकमा दलहरुका बीचमा सहमति हुन नसकेपछि सरकारले फिर्ता लिँदै नयाँ विधेयक दर्ता गरेको थियो।
यसअघि विधेयक नेकपा एमालेसहितका दलले राज्य व्यवस्था समितिबाट बहुमतले पारित गरेर प्रतिनिधि सभामा पेश गरिएको थियो। उक्त विधेयकमा नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरुले ‘नोट अफ डिसेन्ट’ राखेका थिए।
प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाणले वैवाहिक अङ्गीकृतलाई सात वर्ष समय राख्नुपर्ने भन्दै आएको संशोधन फिर्ता लिन माग गरे। उनले विगतमा यही व्यवस्थामा विवाद हँुदा नागरिकहरु नागरिकताविहीन भएकाले सहमति जुटाउन प्रयास गर्न र फेरि पनि यसलाई संशोधन गर्न सकिने भएकाले अहिले नागरिकता दिन अन्य प्रावधान रोक्न नहुने बताए।
उनले नागरिकता पाउने नागरिकको भरोसा अब तोड्न नहुने भन्दै केपी शर्मा ओलीको सरकारले राखेका प्रावधानहरु नै राखेर अहिले विधेयक ल्याइएको दाबी गरे। उनले गैरआवासीय नेपालीहरुको हितका विषय पनि नागरिकता विधेयकमा समावेश भएको दाबी गरे। नेपालमा लगानीदेखि नेपाली भएको अपनत्व गर्न सक्ने गरी समेटिएको उनले बताए। मन्त्री खाणले नियमावली बनाउँदा पनि सहज बनाइने बताए। उनले काठमाडौंमा नागरिकता लिन चाहनेलाई त्यो पनि उपलव्ध हुने र गाउँ जान चाहे पनि दिइने बताए।
४५ जना सांसदले ९४ संशोधन विधेयकमा दर्ता गरेका थिए। त्यसलाई अध्ययन गर्दा ७–८ विषयमा संशोधन परेको गृहमन्त्री खाणले बताए। अहिलेको विधेयकले मूल ऐनको दफा ३ मा संशोधन गर्दै केही उपदफाहरु समेत थपेको छ। लैङ्गिक पहिचानको कुरा पनि आएको भन्दै उनले त्यसलाई पनि समेटिएको बताए ।
१६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान थपिएको उनले बताए। बाबु वा आमा पत्ता लागेमा वंशज नागरिकताको विवरण अद्यावधिक गरिने विधेयकमा थप गरिएको छ। नेपालभित्र फेला परेको व्यक्तिको हकमा बाल मन्दिर र अनाथलयमा हुर्केको भए स्थानीय तहबाट प्राप्त हुने सिफारिसका आधारमा पनि नागरिकता दिइने विधेयकमा थप गरिएको छ।
नागरिकता ऐनको दफा ३ को उपदफा ३ मा सामान्य संशोधन गर्दै उपदफा (४), (५), (६) र (७) थपिएका छन्। संशोधनपछि उपदफा ३ मा भनिएको छ, ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएका प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ।’
उपदफा ३ थपिएको ४ मा अंगीकृत नागरिकका सन्तानलाई संविधानअनुसार ‘वंशज’ दिनेबारे उल्लेख छ। संशोधनका लागि पेश विधेयकमा उपदफा ४ थप्दै भनिएको छ, ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पुगेका नागरिकले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।’
यसैगरी, उपदफा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।
यसैगरी उपदफा ६ मा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकका सन्तानका विषयमा स्पष्ट पारिएको छ। भनिएको छ, ‘उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए ता पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।’
यसैगरी, उपदफा ७ मा उपदफा ५ अनुसार बाबु पत्ता नलागेको नेपाली आमाबाट जन्मेको सन्तानले वंशजको नागरिकता पाएकोमा विदेशी ठहरिए अंगीकृत हुने भनिएको छ। ‘उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेका कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिए बमोजिम स्वघोषणा गरी वंशजको आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अंगीकृत नागरिकता प्राप्त गर्नेछ,’ उक्त विषयमा भनिएको छ।
यसैगरी मूल ऐनमा दफा ७ क थप गरिएको छ। जहाँ गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने विषयमा उल्लेख छ। भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।’
गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले सम्वन्धित अधिकारी समक्ष निवेदन दिनुपर्नेछ। निवेदन दिँदा निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धतापत्र संलग्न गर्नुपर्नेछ।
साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ। निवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी उक्त व्यक्तिलाई तोकिए बमोजिम गैरआवासीय नेपाली नागरिकता दिनेछ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिएबमोजिम सपथ गराउनु पर्नेछ। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्टो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान छ। त्यस्तै यसरी नागरिकता लिने गैरआवसीय नेपालीहरुको हकमा काठमाडौ वा सम्वन्धित जिल्लामा गएर लिन सकिने व्यवस्था विधेयकमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।