काठमाडौं– मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रुपन्देहीका तत्कालीन प्रमुख कुमार आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आचार्यसहित नायब सुब्बा लक्ष्मण न्यौपाने र अजितकुमार सहनी, खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतकान्त मिश्रविरुद्ध ४ करोड ५३ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको हो ।
जग्गाधनीले हदबन्दी लागेको जग्गा मन्दिरलाई दान गरेको तथा २०२६ सालको नापीमा समेत मन्दिरकै नाममा देखिएको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको अख्तियारको आरोप छ ।
आचार्य यसअघि पनि विवादमा परेका मालपोत अधिकृत हुन् । भक्तपुर मालपोतमा रहँदा २४ लाख रुपैयाँ घुस लिएको आरोप खेपेका उनी रुपन्देहीमा हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णयका कारण पनि विवादमा तानिएका थिए ।
असोज २०८० मा आचार्य प्रमुख रहेको मालपोत कार्यालयले विमानस्थलभित्रको ४ बिघा १६ कट्ठा जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । अदालतको आदेशको अपव्याख्या गरी सरकारीकरण भइसकेको जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको भन्दै उक्त निर्णय विवादित बनेको थियो ।
सोही प्रकरणमा समेत अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अहिले मन्दिरको जग्गा दर्तासम्बन्धी प्रकरणमा मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।