काठमाडौं– बाढीपीडितलाई सहयोग गर्ने भन्दै आफ्नै बैंक खाताको क्यूआर कोडमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले काठमाडौंको कलंकीबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसीलाई बिहीबार काठमाडौं महानगरपालिका–१४, कलंकीबाट नियन्त्रणमा लिइएको हो ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा क्षति भएपछि केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले केसीलाई कलंकीमा फेला पारेको थियो । सोधपुछका क्रममा उनले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले केसीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
प्रहरीले विपद्का नाममा व्यक्तिगत बैंक खाता वा क्यूआर कोडमार्फत रकम संकलन गर्ने कार्यप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।