काठमाडौं– इनड्राइभर नामक राइडर एपबाट महिलाको मोबाइल नम्बर लिएर पोर्न साइटमा राख्ने गरेको पाइएको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेसँगै उक्त विषय सार्वजनिक भएको हो।
ब्यूरोले काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भई बौद्ध बस्दै आएका २४ वर्षीय इनड्राइभरका ट्याक्सी चालक कर्म वाङ सिङलाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो।
इनड्राइभर राइडर एप प्रयोग गर्दा महिला चालक भएको भेटिएमा उक्त एपमार्फत प्राप्त भएको मोबाइल नम्बर पोर्न साइटमा राखेको आरोप सिङलाई लागेको छ।
त्यसैगरी उनले एक तेस्रो लिंगी महिलाले आफ्नो फेसबुकमा राखेको फोटो डाउनलोड गरी उक्त फोटो राखेर अर्को अकाउन्ट समेत खोलेर चरित्र हत्या गर्ने काम गरेको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए।
यसरी फेक अकाउन्ट खोली तेस्रो लिंगी महिलाका विभिन्न साथीसँग कुरा गर्दै पैसा माग्ने गरेकोसमेत पाइएको छ। सिङले सोही फेसबुकमार्फत् स्टडी मेटेरियल नामक म्यासेन्जर ग्रुपसमेत बनाई अर्की एक महिलाको पेशा देहव्यापार भएको भन्दै अश्लिल शब्द प्रयोग गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका सिङविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार एने अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।