काठमाडौं– व्यवसायी इच्छाराज तामाङकी श्रीमती पक्राउ परेकी छन्। ठगी सम्बन्धि कसूर तथा संगठित अपराधमा फरार रहेकी सिर्जना शाक्य तामाङलाई प्रहरी टोलीले मंगलबार काठमाडौंको रामशाहपथबाट पक्राउ गरेको जनाएको छ।
काठमाडौं सोल्टीमोडस्थित सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं बिभिन्न प्रलोभन समेतमा पारी ठूलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा पाँच अर्ब चौरासी करोड चालिस लाख एक्काइस हजार ठगी गरेको कसूरमा बिगत ३ वर्ष देखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाएको भन्दै १५३० जना पीडितहरुले प्रहरीमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिएका थिए ।
सोही जाहेरीको आधारमा उक्त संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा तामाङ र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।
सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी भइ सुरुदेखि नै फरार रहेकी उक्त संस्थाका लेखा समिति सदस्य एवं इच्छाराज तामाङकी पत्नी सिर्जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। आवश्यक कानुनी कारबाहीको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।