काठमाडौं–नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गरगहना चोरी गर्ने गिरोहका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा घर भई हाल काठमाडौं गौरीघाट बस्ने १८ वर्षीया सविना पराजुली, गुल्मी मुर्साकोट २ घर भई हाल काठमाडौं खरिबोट बस्ने २५ वर्षीय विष्णु पछाईं र सर्लाही लालबन्दी १६ घर भई हाल काठमाडौं गौरीघाट बस्ने २० वर्षीय सिद्धार्थ बुढाथोकी छन्।
गत असार २३ गते राति १ बजे नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी सुनचाँदीका अन्दाजी १२ लाख बराबरको गरगहना चोरी भएको सूचना आएपछि परिचालित प्रहरी टोलीले उनीहरुलाई साउन १ गते पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसर तथा प्रहरी वृत्त मालीगाउँबाट संयुक्त रुपमा खटिएको टोलीले गिरोहलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेकाहरुबाट सुनको तिलहरी एक थान, चाँदीको करुवा दुई थान, चाँदीको मुकुट, चादीको ५ थान दियो, चाँदीको लकेट, विभिन्न सिक्काहरु १३४ वटालगायत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी वृत्त मालीगाउँबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।