काठमाडौं– हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले बलिउड अभिनेता आमिर खानको आगामी फिल्म ‘लालसिंह चड्डा’लाई विश्वबजारमा वितरण गर्ने भएको छ। कम्पनीले शनिबार घोषणा गर्दै फिल्मलाई विश्व बजारमा वितरण गर्ने जानकारी दिएको हो।
खानको फिल्म ‘लालसिंह चड्डा’ सन् १९९४ मा प्रदर्शनमा आएको अस्कर विजेता चर्चित फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो। फिल्मको हिन्दी संस्करणलाई अद्भैत चन्दनले निर्देशन गरेका छन् भने यसलाई अतुल कुल्कर्नीले हिन्दीमा रुपान्तरण गरेका छन्।
प्यारामाउन्ट पिक्चर्सको अन्तराष्ट्रिय थिएटर वितरण विभागका अध्यक्ष मार्क भैनले सार्वजनिक गरेको विज्ञप्तीमा बताएअनुसार ‘लालसिंह चड्डा’लाई विश्वबजारमा प्रदर्शन गरेर वृहत दर्शकमाझमा लैजानमा कम्पनी उत्सुक रहेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी आमिर खान र भि १८ सँग सम्झौता गरेर ‘लालसिंह चड्डा’लाई विश्वभरका दर्शकमाझमा ल्याउन पाउँदा उत्सुक भएका छौं। अस्कर जितेको ‘फरेस्ट गम्फ’को नयाँ कथावाचनलाई हामी विश्वभरका दर्शकमाझमा ल्याएर उत्सव मनाउन निकै उत्साहित छौं।’
आमिरको यो फिल्ममा उनीसँगै करिना कपुर, मोना सिंह र नागा चैतन्यको अभिनय रहेको छ । फिल्म अगस्ट ११ देखि विश्वभर प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।