काठमाडौं– नेपाल प्रहरीका तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु हाल अवकाशप्राप्त घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले दायर गरेको रिट पनि सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
धीरजप्रताप सिंह (हालका आईजी)सहित ३ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने गत चैत १ गतेको सरकारको निर्णयविरुद्ध उनीहरु सर्वोच्च गएका थिए। सुरुमा उजुरी सुन्ने समितिमा उनीहरुले उजुरी दिएका थिए। त्यहाँबाट न्याय नपाएको भन्दै उनीहरु सर्वोच्च गएका थिए।
रिट दायर गरेका डीआईजीहरुले आफूहरु सिनियर भएकाले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकको बढुवा खारेज हुनुपर्ने माग राखेका थिए। बढुवा गरिएकामध्ये सिंहलाई गत वैशख १८ गते सरकारले आईजीपीमा बढुवा समेत गरेको थियो । सिंहले अहिले आईजीको जिम्मेवारी सम्हालिरहेका छन् ।
सिंहले आईजीको जिम्मेवारी सम्हालेकै दिनबाट रिट दायर गरेका तीनै जना डीआईजीहरु अवकाशमा गएका थिए।
उनीहरुको रिटलाई समेत एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटसँगै लगाउ राखेर सुनुवाइ भएको थियो । पोखरेलले सिंहलाई आईजी बनाउने निर्णयविरुद्ध रिट दायर गरेका थिए।
यी दुवै मुद्दालाई एकै ठाउँमा राखेर कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो। उक्त मुद्दामा आज (शुक्रबार) फैसला सुनाउँदै कार्की र चुडाडकाले इजलासले तीन डीआईजी दायर गरेको तीन वटा र एआईजी पोखरेलले दायर गरेको एक वटा गरी चारै वटा रिट खारेज गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।