काठमाडौं–अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिने भएका छन्। सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी)मा बढुवा गरेसँगै असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका हुन्।
पोखरेलले आइतबार वा सोमबार राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले नेपाल लाइभलाई जानकारी दियो। पोखरेलले बिदा माग गर्दै फारम पेस गरे पनि आईजी सिंहले बिदा स्वीकृत गरेका छैनन्।
प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन्।
पोखरेल गैरहाजिर भएको साउन ८ गते ४५ दिन पुग्छ। बर्खास्त भएको अवस्थामा पेनसन लगायतका सेवासुविधा समेत नपाउने हुँदा पोखरेल राजीनामा दिने मुडमा पुगेका हुन्। राजीनामा नदिएको अवस्थामा उनी आउँदो साउन २० गते अनिवार्य अवकाशमा जानेछन्।
सरकारले सिंहलाई आईजीमा बढुवा गरेपछि पोखरेलले वैशाख १९ गते अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको थियो। पोखरेलको अवकाश मिति साउन २० गते भएकाले उक्तको अन्तिम फैसला नै चाँडो गर्नुपर्ने भन्ने आदेश दिएको थियो।
सोही अनुसार उक्त मुद्दाको कामु प्रानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भएको थियो। कार्की र चुडालको शुक्रबारको इजलासले पोखरेलले दायर गरेको रिट नै खारेज गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।