काठमाडौं– काठमाडौं महानगरपालिका–१५ मा रहेको सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना 'बिचौलिया' पक्राउ परेका छन्।
कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा पुर्याइ लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटो काम गराइदिने भन्दै सेवाग्राही तानातान गरेर दु:ख दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हाे।
सेवाग्राहीबाट बढी रकम असुल गरी दु:ख दिएको सूचना प्राप्त भएपछि प्रहरी बृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहटको चन्द्रपुर नगरपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–४ बाफल बस्ने ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा रहेका छन्।
यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका–२ घर भइ हाल काठमाडौं–१५ स्वयम्भू बस्ने सुरज भन्ने वीरबहादुर मगर, झापा मेचीनगर नगरपालिका–३ घर भइ हाल काठमाडौं–३२ पेप्सीकोला बस्ने २४ वर्षीय विशाल उप्रेती र सर्लाही परवानीपुर नगरपालिका–१६ घर भइ हाल काठमाडौं– ४ सीतापाईला बस्ने २४ वर्षीय बिमल पुलामी पनि पक्राउ परेका छन्।
उक्त घटना सम्बन्धमा पक्राउ परेका अजय मगरसमेत ६ जनालाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को "अभद्र व्यवहार गर्न नहुने" कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भई रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।