कांग्रेस– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीका लागि तत्काल कुनै नयाँ हतियार खरिद नहुने बताएका छन्। वैदेशिक सञ्चिति घटेर अर्थतन्त्र धरासायी बन्दै गइरहेका बेला सरकारले प्रहरीका लागि हतियार किन्न लागेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले हतियार खरिद नहुने बताएका हुन्।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा देउवाले अहिलेसम्म हतियार खरिद गर्ने निर्णय नभएको र सरकारले नगर्ने मनसाय बनाएको स्पष्ट पारे।
केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समिति वैठकमा बोल्दै आर्थिक संकटको समयमा सरकारले हतियार खरिद गर्न लागेको भनि प्रश्न उठाएका थिए। दुई नेताले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले यस्तो कुनै निर्णय भइनसकेको जवाफ दिएको केन्द्रिय सदस्य रामहरि खतिवडाले बताए।
‘सरकारले अहिले हतियार खरिद गर्दैन,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘त्यो निर्णय पनि भएको छैन। अहिले आवश्यक पनि छैन।’
सरकारले आर्थिक संकटको समयमा डलर खर्च गरेर हतियार खरिद गर्न लागेको विषय सार्वजनिक भएको थियो। प्रहरीका लागि एकहजार थान ९ एमएम पिस्तोल, त्यसको लागि गोली १० लाख ३० हजार राउन्ड, बाह्रबोर सटगन ११५ थान, त्यसमा लाग्ने छर्रा २ लाख र रबरका गोली ३ लाख वटा, अश्रु ग्यासका २५ हजार सेल लगायत हतियार खरिदका लागि रकमान्तर समेत भइसकेको विषय बाहिरिएको थियो।
त्यस्तै, वैठकमा गभर्नर महाप्रसाद अधिकारीदेखि सत्ता गठवन्धनको विषयमा पनि प्रश्न उठेको थियो। असार २७ गते देखि सुरु भएको वैठकमा नेताहरुले कुरा राख्ने क्रम जारी रहेकाले आइतबारलाई अर्को वैठक राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।