काठमाडौं– नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिको विषयमा सभामुखको ध्यानाआकर्षण गराएको छ। बिहिबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसद राजेन्द्र प्रसाद गौतमले लेखा समितिको सभापतिको विषयमा ध्यानाआकर्षण गराएका हुन्।
सार्वजनिक लेखा समितिको सभापतिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउने परम्परा रहेकोमा त्यस विपरीत सत्तारुढ दल नेपाली कांग्रेसले सभापति नछाडेको भन्दै एमालेले आपत्ति जनाउँदै आएको छ। तत्कालीन अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार हुँदा कांग्रेसका भरत शाह लेखा समितिको सभापति बनेका थिए। तर, सरकारको नेतृत्व गर्ने अवस्थामा आइपुग्दा समेत कांग्रेसले समितिको नेतृत्व नछाडेको भन्दै गौतमले बिहीबार सभामुखको ध्यानाकर्षण गराएका हुन्।
बिहीबारको बैठकमा सांसद गौतमले उक्त समितिको नेतृत्व प्रमुख प्रतिपक्षीले पाउनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए।
‘सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलले गर्ने परम्परा रहेको थियो। संसदीय अभ्यासलाई हेर्ने हो भने यो समितिको नेतृत्व प्रतिपक्षीले पाउने हो। तर, सत्तापक्षले छोडेको छैन,’ उनले भने, ‘यसले लेखा समितिमा सरकारको छाँया देखिएको छ। सरकारको लाचार छाँया भएर काम गर्न नसक्ने भएर बसेको छ। पटक–पटक नेतृत्वको ध्यानआकार्षण गराएका छौं। हाम्रो नेता सभामुख भएकोले यहाँलाई पनि ध्यानआकार्षण गराएका छौं। तर, हाम्रा कुरालाई सभामुखले सुनुवाइ गर्नु भएन। हामी पुन: ध्यानाकर्षण गराउँछौं।’
गौतमको सम्बोधनपछि सभामुख सापकोटाले उक्त विषयमा आफ्नो ध्यानाआकार्षण भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।